म्याग्दी । धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले बुधबार दिउँसो म्याग्दी नदी थुनिएको छ ।
पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ ।
धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको बासबोटको छिमेकी गाउँ छहरीका बासिन्दा तम पुनले बताए ।
नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाइएको छ । छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरु हुन् ।
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपछि तलाउ कत्रो बनेको छ भन्न सकिने अध्यक्ष पुनले जानकारी दिए ।
उनले नदी थुनिएर बनेको तलाउ एकै पटक बग्दा तटीय क्षेत्रमा कटान र बाढी आउने सक्ने भएकाले प्रशासन कार्यालयमार्फत सतर्कता अपनाउन अनुरोध गरिएको बताए ।
धौलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ ।
Facebook Comment
Comment