नेकपा ( एमाले) को आगामी ११ औँ महाधिवेशनले अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्थापित गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आसिन गराउने र भण्डारीको नेतृत्वमा २०८४ को आमचुनावमा २०७४ मा जस्तै पुनश्च ‘वामपन्थी गठबन्धन’ र ‘पार्टी एकता’ हुने चर्चा कम्युनिस्ट वृत्तभित्र सघन हुँदै गएको छ ।
यसै सन्दर्भमा नेकपा ( माओवादी केन्द्र ) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग ‘गोप्य भेटघाट’ गरेको समाचार बाहिरियो । श्रेष्ठ भने यो समाचारको कुनै खण्डन नगरिकन अमेरिकातिर लागे । श्रेष्ठनिकट वृत्तले भेटघाटको संभावना अस्वीकार गरेको छैन । ‘गोप्य’ भनिएको भेटघाटबारे कसैले औपचारिक पुष्टि पनि गरेका छैनन् ।
नेकपा ( माओवादी केन्द्र ) का प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले असार २३ गते पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै भण्डारी–श्रेष्ठ भेटको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।
सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट गर्दर्छौं । साथै, समाचारमा भनिएजस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’
यो भनाइबाट माओवादी केन्द्र एमालेसँग एकताको चर्चाले पार्टीको छवि बिग्रने वा प्रतिरक्षात्मक हुन सक्ने अवस्थाप्रति सचेत देखिन्छ । तर, तत्काल संभव नभए पनि ‘वामपन्थी गठबन्धन वा एकता’ कम्युनिस्ट घटकहरूको सदाबहार चाहना हो, जो अहिलेसम्म कहिल्यै पूरा भएको छैन । कम्युनिस्ट एकताको चर्चाले यसका नेता, कार्यकर्ता, समर्थक र मतदाता जति उत्साहित हुन्छन्, व्यवहारिक अनुभव भने ठीक उल्टो र तीतो छ ।
नेपालको कम्युनिस्ट पार्टी र आन्दोलन असाध्यै धेरै विभाजित छ । वि.स. २०१९ सालमा विभाजित भएको नेकपा त्यसयताको ६३ वर्षमा कहिल्यै दीगो गरी एकताबद्ध हुन सकेको छैन । यद्यपि नेकपाका घटकहरूको विभाजन र एकताको क्रम भने चलिरहे कै छ ।
निर्वाचन आयोगमा दर्ता र अद्यावधिक १२१ मध्ये २३ वटा दलको नाम नै ‘कम्युनिस्ट’ छ । फरक प्रकृतिको नाम राखेका पूर्वकम्युनिस्ट समूह पहिचान हुने हो भने अझ धेरै हुन सक्दछन् । निर्वाचन आयोगमा दर्ता नभएका वैद्य, विप्लव, आहुति, कञ्चनआदिका समूह पनि कम्युनिस्ट घटक नै हुन । यी सबैको गणना गर्दा देशमा ३० बढी कम्युनिस्ट समूह र घटक अस्तित्वमा हुनु पर्दछ ।
यीमध्ये ५ वटा त संघीय संसद्भित्रै छन् । ती हुन्– एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेमकिपा ।
कम्युनिस्ट घटक र समूहबीच एकता हुनुपर्दछ र एउटै पार्टी बन्नुपर्दछ भन्ने धारणा बारम्बार व्यक्त हुने गर्दछ । तर, कस्को नीति र नेतृत्वमा भन्ने प्रश्न खडा भएपछि कहिल्यै संभव भएको छैन । पार्टी एकता हुन नसके वामपन्थी गठबन्धन गरेर अघि बढ्नुपर्ने धारणा राख्ने पनि धेरै हुन्छन् । केही महत्त्वपूर्ण प्रयासका बाबजुद ‘एक ठाम, एक वाम’ पनि हुन सकेको छैन ।
कम्युनिस्ट घटकहरूसँग देशमा अहिले पनि बलियो जनमत र संगठन–सञ्जाल छ । मतांशको कम्तीमा ४० प्रतिशत कम्युनिस्ट घटकले ओगट्छन् । संसदीय लोकतन्त्रमा यो धेरै ठूलो मतांश हो । यति मत एकीकृत हुने हो भने यो प्रणालीमा बहुमत प्राप्त गर्न कुनै पनि पार्टीलाई गाह्रो हुँदैन ।
२०१९ सालको पार्टी विभाजनपश्चात सबैभन्दा ठूलो र प्रभावशाली एकता प्रयास २०७४ को आम निर्वाचनमा ‘एमाले–माओवादी–जनमोर्चा गठबन्धन’ थियो । वाम–गठबन्धनमा भएका यी तीन कम्युनिस्ट घटक एमाले–३३.२५, माओवादी केन्द्र–१३.६६ र राष्ट्रिय जनमोर्चाको ०.६५ प्रतिशत मतलाई एक ठाउँ जोड्दा ४७.५६ प्रतिशत हुन्थ्यो, जो संसदीय प्रणालीमा धेरै ठूलो जनमत हो ।
यी दलले २७५ सिटमध्ये १७५ झण्डै दुईतिहाइ नजिकको प्रचण्ड बहुमत हासिल गरेका थिए । तर, त्यो टिक्न सकेन । २०७४ मा वामपन्थी गठबन्धनले प्राप्त गरेको प्रचण्ड बहुमतका बाबजुद देशको राजनीति सहज बाटोमा भने हिँड्न सकेन । त्यसयता कम्युनिस्ट समूहहरू जनताको नजरमा अलोकप्रिय बनेका छन् तर, जनमत उल्लेखनीय ह्रास भइसकेको छैन ।
२०७९ को आमनिर्वाचनमा विभाजित कम्युनिस्ट समूह र घटकले पाएको मतांश कमजोर भन्न मिल्दैन । तीन ठूला घटक एमाले–२६.९५, माओवादी केन्द्र– ११.१३ र एकीकृत समाजवादीको २.८३ जोड्दा मात्र ४०.९१ प्रतिशत हुन्छ, जो संसदीय व्यवस्थामा बहुमत हासिल गर्न पर्याप्त जनमत सावित हुन सक्दछ ।
अहिले एकातिर विद्यमान व्यवस्था र निर्वाचन प्रणालीमा कुनै पनि दलको एकल बहुमत आउन सक्दैन भन्ने तर्क बलशाली छ । अर्कोतिर कम्युनिस्ट जनमत एकीकृत हुने भने सजिलै बहुमत प्राप्त हुने संभावना सधैँ छ । तर, पनि कम्युनिस्ट घटक मिल्न सकेका छैनन् ।
किन जुट्न सक्दैनन कम्युनिस्ट ?
झट्ट हेर्दा कम्युनिस्ट घटकहरूको गठबन्धन वा एकता नहुनु पर्ने कुनै बलियो वैचारिक तथा सैद्धान्तिक कारण देखिँदैन । सबै कम्युनिस्ट घटकको मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ हो । ‘माओवाद’ र ‘माओ विचारधारा’ बीचको भिन्नता त्यति महत्त्वपूर्ण होइन । माओवाद वा माओ विचारधारा नभन्ने समूहले पनि चिनियाँ कम्युनिस्ट पार्टी र आन्दोलनको सम्मान र समर्थन नै गर्दछन् । माओ त्से तुङ उत्तिकै ठूलो वा हाराहारीको अन्तर्राष्ट्रि कम्युनिस्ट प्राधिकार मान्दछन् । सबै कम्युनिस्ट समूहको घोषित लक्ष्य ‘समाजवाद हुँदै साम्यवाद’ मा पुग्नु हो । सबै कम्युनिस्ट समूह वर्गीय दृष्टिकोण, वर्ग–संघर्ष, सर्वहारा वर्ग पक्षधरतामा विश्वास गर्दछन् ।
फेरि विवाद के हो त ? कम्युनिस्ट घटकहरूबीच संघर्षको कार्यनीति र कार्यदिशामा दुई धार छन् । एक– सर्वहारा विद्रोह, सशस्त्र संघर्ष र क्रान्तिद्वारा सर्वहारा राज्य स्थापना गर्न चाहना । अर्को– बहुदलीय व्यवस्थाभित्रै चुनावी संघर्षबाट शान्तिपूर्ण तवरले निर्वाचित भएर सत्तामा जाने लोकतान्त्रिक सोंच ।
यी दुई कार्यदिशाबीचको भिन्नता महत्त्वपूर्ण हो । हिजो यही मुख्य कारणले गर्दा एमाले र माओवादी केन्द्र फरक थिए । माओवादी केन्द्र ‘जनयुद्ध’ तिर लागेको थियो । एमाले ‘बहुदलीय जनवाद’ तिर । यस्तो भिन्नता स्वाभाविक मानिन्थ्यो । तसर्थ एमाले माओवादी बीच एकताको कल्पना पनि कसैले गर्दैनथ्यो ।
तर, आज अधिकांश कम्युनिस्ट समूहले विद्रोह, हिंसात्मक संघर्ष, सर्वहारा क्रान्ति र एकदलीय कम्युनिस्ट पार्टी प्रणालीको सोंच परित्याग गरिसकेका छन् । पछिल्लो चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह यस्तो सोंच र अभ्यासबाट मुक्त भएर शान्तिपूर्ण बाटोमा फर्किएको छ । अन्य सबै कम्युनिस्ट घटक र समूह बहुदलीय लोकतन्त्रभित्रै शान्तिपूर्ण गतिबिधि गरिरहेका छन् ।
यस आधारमा कम्युनिस्ट समूहबीच एकता असहज र असंभव नहुनु पर्ने हो ।
तर, कम्युनिस्ट समूहको फुटमा वैचारिक कारण मात्र जिम्मेवार छैनन् । थप दुई कारण छन्, ती हुन्– नेतृत्वको अहं–संघर्ष र गुटगत पृष्ठभूमिको मनोविज्ञान ।
नेपालको कम्युनिस्ट पार्टी र आन्दोलनमा प्रारम्भदेखि नै गुटगत मनोविज्ञान थियो । वि.स. २००६–२०१८ को अवधिमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य आदि नेताले फरकफरक गुटगत पृष्ठभूमि र मनोविज्ञान निर्माण गराएका थिए । २०१९ पछिको विभाजनले यो क्रम झनै बढ्यो ।
२०३० को दशकमा ‘माले’ र ‘चौम’ जस्ता दुई मुख्य धार निर्माण भए । माले धारबाट एमाले बन्यो र चौम धारबाट माओवादी केन्द्र । ‘चौम’ भित्र ‘मसाल’ र ‘मशाल’ जस्ता गुटगत आधारमा निर्मित मनोविज्ञान विकसित हुँदै गयो ।
कम्युनिस्ट समूहहरू आज पनि आआफ्ना गुटगत पृष्ठभूमि, स्कुलिङ र मनोविज्ञानबाट मुक्त छैनन् ।
दोस्रो महत्वपूर्ण कारण हो– मूल नेतृत्व कस्को हातमा हुने र पार्टीमा कस्को वर्चस्व कायम हुने भन्ने संघर्ष । कम्युनिस्ट एकताको सबैभन्दा ठूलो बाधक तत्व यही हो ।
जब कुनै थोरै नाम चलेको वा चिनिएको नेताको जन्म हुन्छ– तुरुन्तै आफ्नो भिन्नै समूह गठन गर्दछ । प्रभावशाली धेरै नेताहरू एउटै पार्टीमा बस्न कम्युनिस्ट संस्कृतिमा गाह्रो हुने रहेछ ।
ओलीजस्तै विद्यासँग पनि आश्वस्त छैनन् प्रचण्ड
२०७४ को वामपन्थी गठबन्धन र त्यसपछिको पार्टी एकताका अनुभवले माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग आशावादी छैनन् । केपी शर्मा ओली र विद्या भण्डारीको सोंच, संस्कार र प्रवृतिमा आधारभूत भिन्नता नरहेको दाहालको ठहर छ ।
माओवादी केन्द्रको सोंच अहिले एमालेबाहेकका कम्युनिस्ट समूहलाई एकीकृत गरी एमालेलाई टक्कर दिन सक्ने अर्को कम्युनिस्ट केन्द्र निर्माण गर्नु हो ।
अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा यसको प्रष्ट संकेत छ । विज्ञप्तिमा भनिएको छ–‘एमाले बाहेकका अन्य कम्युनिस्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरूसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि चलेको छैन ।’
शनिबार दिउँसो माओवादी केन्द्रको कार्यालयमा ५ कम्युनिस्ट पार्टीका शीर्ष नेताको बैठक भएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अतिरिक्त एकीकृत समाजवादीका माधबकुमार नेपाल, नेकपा (मसाल) का मोहनविक्रम सिंह, नेकपाका खड्गबहादुर विश्वकर्मा र क्रान्तिकारी कम्युनिस्ट पार्टीका सीपी गजुरेल उपस्थित थिए ।
एमाले बाहेकका केही कम्युनिस्ट समूह मिलेर ‘समाजवादी मोर्चा’ पनि बनाएका छन्, बेलाबेला मोर्चाको भिन्नै बैठक हुन्छ । एमाले बाहेकका कम्युनिस्ट समूह एक हुने हो भने कांग्रेस–एमाले हाराहारीकै तेस्रो ठूलो शक्ति बन्न सक्ने कतिपयको विश्वास छ ।
गैरएमाले पृष्ठभूमिका समूहलाई एमालेमा ओली वा भण्डारीमध्ये जो नेतृत्वमा आए पनि कुनै भिन्नता हुँदैन । तसर्थ, यो बहसमा उनीहरूदले खासै रुचि राख्दैनन् । तर, एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) का लागि भने यो महत्त्वपूर्ण कडी वा मोड हुन सक्दछ ।
अध्यक्ष माधवकुमार नेपालमथि पताञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि नेकपा ( एकीकृत समाजवादी ) थप नैतिक तथा अस्तित्व संकटको सामना गरिरहेको छ । २०८४ को चुनावसम्म यो दलले एमाले वा माओवादी केन्द्रमध्ये कसैसँग पार्टी एकता गर्ने संभावना प्रबल छ । एमालेमा ओली परिवर्तन नभएमा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्यो भने कुनै आश्चर्य हुने छैन ।
विद्याको उदयले मात्र खुल्दैन एकताको ढोका
उमेर, स्वास्थ्य, कार्यशैली, प्रभावकारी हुन नसकेको सरकारको छवि र विगतका तिक्त अनुभूतिको कारण ओलीको नेतृत्वका वामपन्थी गठबन्धन तथा कम्युनिस्ट एकताको संभावना छैन । माओवादी केन्द्रका लागि नेकपाकालीन अनुभव तिक्त रह्यो भने एकीकृत समाजवादीप्रति ओली निर्मम र प्रतिशोधी हुँदै गएको बुझाइ छ ।
दाहाल, नेपाल र यहाँसम्म कि झलनाथ खनालसमेत ओलीसँगको सम्बन्धलाई सहज मान्दैनन् । एकीकृत समाजवादीका नेताहरू माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पताञ्जलि योग तथा आयुर्वेद कम्पनी जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर गर्नुलाई ओलीको नेपालप्रतिको निजी प्रतिशोध ठान्दछन् ।
ओली सरकारको पालामा नियुक्त गरेका अख्तियारका प्रमुख आयसक्त प्रेमकुमार राईलाई पुननिर्युक्तिको आवश्वासन दिइएको समेत यो पार्टीका नेता कार्यकर्ता आशंका गर्दछन् । अहिलेसम्म अख्तियारले पूर्वप्रधानमन्त्रीहरूलाई मुद्दा नलगाएको र प्रधानमन्त्रीहरूको संलग्नतालाई ‘नीतिगत’ मान्दै आएको सन्दर्भमा माधवकुमार नेपालमाथिको मुद्दालाई लिएर आशंका गर्न सकिने ठाउँ छ । विगतका आफ्नै निर्णय र नजिरको सीमारेखा आयोगले कुन आधारमा किन र कसरी नाघेको हो, अहिलेसम्म प्रष्ट गरेको छैन ।
यस अर्थमा अन्य कम्युनिस्ट समूह एमालेमा ओलीको नेतृत्व विस्थापन भएको हेर्न त चाहन्छन् । एमालेमा अन्य विकल्प नदेखिएको सन्दर्भमा विद्या भण्डारीप्रति धेरैको सहानुभूति पनि हुन सक्दछ ।
तर, एमालेमा विद्याको उदय हुँदैमा फेरि २०७४ कै आकारको वामपन्थी गठबन्धन र कम्युनिस्ट एकता होला भनेर पत्याउन सकिने आधार भने छैनन् । भण्डारी विचार, सिद्धान्त, सोंच र राजनीतिक सवालका दृष्टिकोणले ओलीभन्दा फरक हुने छैनन् ।फरक कति हो भने ओलीभन्दा भण्डारी थोरै नरम र सहिष्णु हुन सक्नेछिन् । तर, वामपन्थी गठबन्धन र कम्युनिस्ट पार्टी एकताका लागि यति नै कुरा पर्याप्त हुँदैन ।
पार्टीको जानकारी बिना केही माओवादी नेताको ‘गोप्य भेट’ ओलीको विस्थापनका लागि भण्डारीलाई प्रोत्साहन गर्ने ‘कूटनीतिक शिष्टाचार’ हुन सक्दछ तर एमालेमा विद्याको उदयले मात्र कम्युनिस्ट एकताको ढोका भने खोल्दैन ।
Facebook Comment
Comment