पाकिस्तानमा ‘सफ्ट कू’को चर्चा : राष्ट्रपति बन्ने योजनामा छन् मुनीर ?

नेपालभ्युज

पाकिस्तानमा ‘सफ्ट कू’को चर्चा : राष्ट्रपति बन्ने योजनामा छन् मुनीर ?
तस्वीर स्रोत - पाकिस्तानी सेनाको एक्सबाट

काठमाडौं । पाकिस्तान फेरि एकपटक सैनिक शासनतर्फ उन्मुख हुँदैछ कि भन्ने अड्कलले हाल देशको राजनीतिक वृत्तमा व्यापक चर्चा पाइरहेको छ । यो अड्कल जनरल जिया उल हकले ७ जुलाई १९७७ मा निर्वाचित सरकारलाई हटाएर सत्ता कब्जा गरेको कूसँग जोडेर हेरिएको छ ।

यतिबेला मुलुकको ध्यान केन्द्रित भएको विषय हो — सेनाप्रमुख जनरल असीम मुनीरको ‘फील्ड मार्शल’ पदमा अभूतपूर्व बढुवा ।

यो बढुवालाई लिएर पाकिस्तानका वरिष्ठ पत्रकार अजाज सय्यदले जनरल मुनीर राष्ट्रपति बन्ने योजना बनाइरहेको दाबी गरेपछि अड्कल झनै बढेको हो । पाकिस्तान स्थापना भएको ७८ वर्षको इतिहासमा अहिलेसम्म दुई जनरल मात्रै फील्ड मार्शल बनेका छन् । यसअघि सन् १९५८ मा कू गरेर सत्ता हात पारेका जनरल अयूब खानलाई यो उपाधि दिइएको थियो ।

फील्ड मार्शलको पद आजीवन मानिन्छ । यसको अर्थ हुन्छ – त्यो पदमा पुगिसकेपछि कुनै प्रधानमन्त्री वा न्यायालयले हटाउन सक्दैन । यो विशेषाधिकारयुक्त पदसँगै जनरल मुनीर पाकिस्तानको सबैभन्दा शक्तिशाली व्यक्ति बनेका छन् । विश्लेषकहरूको बुझाइमा यो बढुवा केवल सम्मानको लागि होइन, बरु सैनिक संस्थाको सर्वोच्चतालाई फेरि स्थापित गर्न गरिएको कदम हो ।

मुनीरको बढुवा र राष्ट्रपति बन्ने सम्भावनाको चर्चा बीचमा पाकिस्तानको लोकतन्त्र फेरि संकटमा पर्नसक्ने संकेत देखिएको छ । सरोकारवालाले  यसलाई ‘सफ्ट कू’का रुपमा व्याख्या गरेका छन्, जसले संसद्, न्यायपालिका र प्रेसजस्ता संवैधानिक संस्थालाई निष्क्रिय बनाउँदै सेनालाई प्रत्यक्ष वा परोक्ष रुपमा राज्य सञ्चालनको केन्द्र बनाउँछ ।

पत्रकार सय्यदका अनुसार राष्ट्रपति आसिफ अलि जरदारीलाई पदबाट हटाउने प्रयास सुरु भइसकेको छ । “धेरै मानिसहरू जरदारीलाई हटाउन चाहन्छन्,” उनले भनेका छन्, “उहाँलाई राजीनामा दिन बाध्य पार्ने योजना चलिरहेको छ ।”

रिपोर्टअनुसार जरदारीले राजीनामाका लागि एउटा सर्त राखेका छन् – यदि उनका छोरा बिलावल भुट्टो जरदारीलाई परिपक्व नेताको रूपमा स्थापित गर्न सक्ने गरी कुनै ठूलो पद (विशेष गरी प्रधानमन्त्री) दिइएमा मात्र उनी पद छोड्न तयार हुनेछन् ।

सामाजिक सञ्जालमा समेत यो चर्चा छ कि मुनीर ‘सफ्ट कू’ योजना बनाइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “मुनीर अमेरिकासँग गुप्त सम्झौतामा लागेका छन्, जबकि जरदारी चीनको पक्षमा उभिएका छन् । त्यसैले सीपीईसी (चीन-पाकिस्तान आर्थिक करिडोर) लाई नष्ट गर्न मुनीर कुनै पनि हद पार गर्न तयार छन् ।”

यसैबीच पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले अल जजीरालाई दिएको अन्तर्वार्तामा भारतसँग विश्वास निर्माणका लागि केही ‘महत्वपूर्ण व्यक्तिहरू’लाई भारतमा सुपुर्द गर्न पाकिस्तान तयार हुनसक्ने बताएका थिए । उनको यो कथनपछि लश्कर-ए-तैयबा प्रमुख हाफिज सईदका छोरा तल्हा सईदले भुट्टोको कडा आलोचना गर्दै माफी माग्न माग गरेका थिए । यसले पाकिस्तानभित्रै शक्ति सन्तुलन र विचारधारात्मक द्वन्द्व चर्किएको देखाएको छ ।

यता, वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ र उनको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएलएन) ले सेना प्रमुख मुनीर र राष्ट्रपति जरदारीबीच बढ्दो समीकरण र प्रस्तावित राजनीतिक परिवर्तनको कडा विरोध गरिरहेका छन् ।

पाकिस्तानमा सैन्य हस्तक्षेपको इतिहास

पाकिस्तानको इतिहासमा सैन्य हस्तक्षेप नयाँ होइन । यसअघि पनि तीन जना सेना प्रमुखहरूले सैन्य कू मार्फत सत्ता कब्जा गरी राष्ट्रपतिको पद सम्हालेका थिए ।

सन् १९५८ को सैनिक विद्रोह मार्फत सत्तामा आएका थिए, अयूब खान । उनी सन् १९५८ देखि १९६९ सम्म राष्ट्रपति बनेका थिए । यसबाहेक जिया-उल-हक सन् १९७७ को सैनिक विद्रोहमार्फत सत्तामा आएर सन् १९८८ सम्म राष्ट्रपति बने ।

परवेज मुशर्रफ सन् १९९९ को सैनिक विद्रोह मार्फत सत्तामा आए र २००८ सम्म राष्ट्रपतिको रूपमा शासन गरेका थिए ।

पाकिस्तानको संसदीय इतिहासमा अहिलेसम्म कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो पाँच वर्षको कार्यकाल पूरा गर्न सकेका छैनन्, जुन मुलुकको राजनीतिक अस्थिरता र सैन्य प्रभावको स्पष्ट प्रमाण हो ।

तर, यस पटकको सम्भावित परिवर्तन भने प्रत्यक्ष कू भन्दा पनि राजनीतिक र संवैधानिक मार्गबाट गरिने ‘सफ्ट कू’ को प्रयासको रूपमा हेरिएको छ, जसको केन्द्रमा शक्तिशाली सेना प्रमुख जनरल असिम मुनीर रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved