बाढीपहिरोले प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध

नेपाल प्रहरीले बुधबार बिहान ८ बजे अद्यावधिक गरेको विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका प्रमुख सडकहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्।

नेपालभ्युज

बाढीपहिरोले प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध
तस्वीर स्रोत - रासस

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले  बुधबार बिहान ८ बजे अद्यावधिक गरेको विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका प्रमुख सडकहरू पूर्ण वा आंशिक रूपमा बन्द छन् ।

विभिन्न प्रदेशका सडकको अवस्था

लुम्बिनी प्रदेश: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । देशको मुख्य लाइफलाइन मानिने यो राजमार्ग बन्द हुँदा लामो दूरीका सवारीसाधन रोकिएका छन् ।

कोशी प्रदेश: कोशी राजमार्ग (सङ्खुवासभा) र मेची राजमार्ग (पाँचथर) बाढी तथा अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द छन् ।

बागमती प्रदेश: यहाँ पनि पहिरो र बाढीले सडकमा असर पारेको छ । कान्तिलोक पथ (मकवानपुर) र रसुवाको गोसाइँकुण्डमा नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएका छन् । यद्यपि, काभ्रेको बनेपा–नाला–भक्तपुर सडक खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश: कालिगण्डकी करिडोरको बागलुङ खण्ड एकतर्फी सुचारु छ भने म्याग्दीको दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

लुम्बिनी प्रदेश: गुल्मी र रोल्पामा पनि कालिगण्डकी करिडोर र शहीद राजमार्ग एकतर्फी रूपमा चलिरहेका छन् ।

कर्णाली प्रदेश: डोल्पा र रुकुम पश्चिमका विभिन्न स्थानमा भेरी करिडोर र अन्य सडकहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सुदूरपश्चिम प्रदेश: बझाङमा जयपृथ्वी राजमार्ग पनि पहिरोले गर्दा बन्द भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले अवरुद्ध सडकहरू खुलाउनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेको बताएको छ । प्रहरीले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन अनुरोध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved