काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त तीन न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले शपथ लिएसँगै सर्वोच्चमा प्रधानन्यायाधीशसहित न्यायाधीशको संख्या २० पुगेको छ ।
शपथ ग्रहण गरेलगत्तै तीनै न्यायाधीशको इजलाससमेत तोकिएको छ । सर्वोच्च प्रकाशनले गरेको दैनिक पेसी सूचीअनुसार वरिष्ठ अधिवक्ताबाट न्यायाधीश बनेका मेघराजको न्यायाधीश विनोद शर्मासँगको संयुक्त इजलास तोकिएको छ । मेघराजले इजलासमा बसेर न्यायसम्पादन गर्न थालेका छन् ।
त्यसैगरी, उच्च अदालतबाट सर्वोच्चको न्यायाधीश बनेका श्रीकान्तले न्यायाधीश मनोजकुमार शर्मासँग संयुक्त इजलास तोकिएको छ । उच्च अदालतबाट सर्वोच्चको न्यायाधीश बनेकी शान्तिसिंह थापाले न्यायाधीश कुमार चुडालसँग इजलास साझा गरेकी छिन् ।
संविधान अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुनुपर्छ । अहिले सर्वोच्चमा न्यायाधीशको एउटा पद रिक्त रहेको छ ।
न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको सिफारिसको बेला चार जनाको नाम प्रस्ताव गरेपनि त्यतिबेला तीन जनाको नाममा मात्र न्यायपरिषद्मा सहमति जुटेको थियो । उच्च अदालतबाट दुई न्यायाधीश सर्वोच्च ल्याउँदा कानुन व्यवसायीबाट कांग्रेस निकट मानिएका मेघराज सिफारिस भएका थिए ।
अब रिक्त रहेको एक पदमा एमालेको कोटाबाट न्यायाधीश नियुक्ति गर्ने तयारी न्याय परिषद्को छ ।
Facebook Comment
Comment