स्टार्टअप्सलाई उत्साही बनाइरहेको शार्क ट्यांक नेपाल

स्टार्टअप्सलाई उत्साही बनाइरहेको शार्क ट्यांक नेपाल

काठमाडौं । नवीनतम सोचले मात्रै व्यवसायको सुरुवात हुन सक्दैन । लगानी व्यवसायको अनिवार्य सर्त हो । अनुभवी र स्थापित व्यवसायीले साझेदारी गर्दा व्यापार वृद्धिको सम्भावना अझ बढी हुन्छ । उद्योगी र स्टार्टअप्सका लागि अनुभवी र स्थापित व्यवसायी घरानालाई आफ्नो व्यापारमा साझेदार बनाउन सम्भव होला त ?

नेपालमा यो कुरालाई सम्भव गराउँदै छ ‘शार्क ट्यांक’ नेपाल । हरेक बुधबार बिहीबार राति ९ बजे हिमालय टिभीबाट प्रशारण हुने बिजनेस रियालिटी शो  ‘शार्क ट्यांक नेपाल’ नेपाली स्टार्टअप्सका लागि लगानी प्रस्तावको  राम्रो मञ्च हो ।

सफल उद्यमी बन्ने सपना बोकेकाहरूले यस शोबाट स्थापित व्यावसायिक घरानाबाट लगानी प्राप्त गर्न सक्छन् । त्यसका लागि उनीहरूले आफ्नो व्यवसायको विवरण प्रभावकारी ढंगबाट प्रस्तुत गर्नुपर्ने हुन्छ । उनीहरूले नै आफूलाई चाहिने लगानी र त्यसमा साझेदारीको हिस्सा तोक्नुपर्नेछ ।

व्यवसायीले प्रस्ताव गरेको प्रस्तावनामा लगानीकर्ताहरूले चित्त नबुझाए उनीहरूले काउन्टर प्रस्ताव गर्छन् । यस्तै, लगानीकर्ताहरूको साझेदारी हिस्सा र लगानी रकम चित्त नबुझेमा व्यवसायीले काउन्टर प्रस्ताव राख्न सक्छन् । काउन्टरमा मिलनविन्दु खोज्ने प्रयास पनि हुन्छ । लगानीकर्ता वा व्यवसायीमध्ये कोही एक सहमत नभए डिल रद्द हुन्छ ।

कसले गर्छन् व्यवसायीहरूसँग डिल ?

‘शार्क ट्यांक नेपाल’ शो मा पाँच जना शार्क्स अर्थात् लगानीकर्ता रहेका छन् ।  पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, आईएमई समूहका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र रन निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगरिया लगानीकर्ता  हुन् ।

कार्यक्रममा उनीहरूले  व्यवसायीको सोच, शैली र व्यापारका विभिन्न आयामबारेको बुझाइको परीक्षण गर्छन् । उद्योगी वा व्यवसायीहरूले हालसम्म गरेको व्यापारको लेखा-जोखा गर्दै त्यसलाई अघि बढाउन सम्भव रहे-नरहेको निष्कर्ष निकाल्दै लगानीको प्रस्ताव पेस गर्छन् । प्रस्तुतिले शार्कहरूको मन जितेमा लगानीका लागि ‘डिल’ गर्दछन् ।

शार्क ट्यांक नेपालको हालसम्म दुई एपिसोड प्रशारण भइसकेको छ । अहिलेसम्म उद्यमीहरूले ५.७२ करोड रूपैयाँ लगानी प्राप्त गरेका छन् । पहिलो सिजनका लागि १५ सय जनताले आवेदन दिएका थिए । तीमध्ये ११० जनाले आफ्नो व्यापार र व्यापारिक योजना प्रस्तुत गर्ने मौका पाए । पहिलो सिजनमा यीमध्ये ३५ जनाले करिब ४० करोड बराबरको लगानी पाउनेछन् ।

व्यापार वृद्धिको सम्भावना केलाउँदै शार्क्सहरूले कहिलेकाहीँ लगानीकर्ताको मागभन्दा बढी लगानी प्रस्ताव गर्दै बढी हिस्सेदारी पनि लिन्छन् । जस्तै, इन्टिरियर डिजाइन र फर्निचर उत्पादनको कार्य गर्दै आएको आर्ट मायाले व्यवसाय विस्तारका लागि शार्क्सहरूसमक्ष ६ प्रतिशत सेयर दिनेगरी १ करोड रकमको माग गर्‍यो ।  ३ जना शार्कहरूले ३० प्रतिशत सेयरका लागि ३ करोड दिने प्रस्ताव गरेका थिए । आर्ट मायाले  २५ प्रतिशत मात्र सेयर दिन सकिने काउन्टर अफर गर्‍यो । शार्कले आफूले १० प्रतिशत सेयरबाट नघट्ने बताएपछि उनीहरूले ३० प्रतिशतकै डिल लिएका हुन् ।

शार्क ट्यांक नेपालका एक शार्क क्याबिनेट श्रेष्ठ उद्यमीको इमानदारिता, शैली व्यापारिक पृष्ठभूमि र नाफा-नोक्सान आदि हेरेर आफू लगानी गर्ने बताउँछन् ।

शार्क हेमराज ढकाल उद्यमीको सिर्जनशीलता हेरेर नयाँ बिजनेस आइडिया भएका उद्यमीलाई लगानी दिने  बताउँछन् । ‘लगानी गर्दा उद्यमीको कामप्रतिको भोक, समर्पण र सो कम्पनीलाई माथि कहाँसम्म लान सकिन्छ पनि हेरिन्छ,’ उनी भन्छन् । उनका अनुसार उद्यमीले प्रस्तुति दिने बित्तिकै कतिपय कुरा थाहा भई नै हाल्छ ।

अलि अलि रोमाञ्चकता, उत्सुकता, कौतूहलताका पाटा समेट्दै रियालिटी शो बन्छन् । शो मा यी पाटाहरू पनि समावेश छन् । यहाँ प्रस्ताव लिएर जाने सबैले लगानी प्राप्त गर्दैनन् । जस्तै,  छाला स्याहारसम्बन्धी उत्पादन एलिट्राको बिजनेस मोडल शार्कहरूले रूचाएनन् । शान्ता अचारलाई सञ्जाल विस्तार र वितरणमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै शार्कहरूले लगानी भने गर्न नसकिने जानकारी गराए ।

कतिपय उद्योगमा शार्क्सहरूले आफ्नो संस्थागत  सामाजिक उत्तरदायित्वसँग जोडेर पनि सामूहिक लगानी गरेका छन् । त्यो पनि नाफा नलिनेगरी । सिर्जनशील महिला उद्यमी प्रालिले  पाँच जना शार्क्सबाट लगानी पाएको छ । स्यानेटरी प्याड उत्पादन गर्दै ग्रामीण भेगमा सहुलियत मूल्यमा उपलब्ध गराउने योजनाअन्तर्गत काम गर्दै आएको यो उद्योगले ४० प्रतिशत साझेदारीमा ५० लाख रूपैयाँ पाएको हो । शार्क्सहरूले आफूले गरेको लगानीबाट प्राप्त नाफा रकम कम्पनीमै लगानी गर्ने गरी ५० लाख दिएका हुन् ।

कहीँ सामाजिक उत्तरदायित्व त कहीँ महिला सशक्तीकरणमा आधारित रहेर शार्कले लगानी गरेका छन् । पाँच हजारबाट व्यवसाय सुरु गरेर आठ लाखको बनाएको र यसलाई अझै विस्तार गर्ने सोचमा लगानी माग गर्न आएकी थिइन् सन्ध्या पोते हाउसकी सञ्चालक । उनले पोते बनाउनका लागि आफूले पाँच हजार बढी महिलालाई तालिम दिँदै उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताइन् । उनीहरूलाई नै प्रयोग गर्दै उत्पादन बढाउनका लागि आफूलाई रकम आवश्यक रहेको कुरा सुनाइन् । पाँच शार्क्समध्ये चार जनाले त्यसमा लगानी नगर्ने बताए । शार्क क्याबिनेट श्रेष्ठले ३५ प्रतिशत सेयर लिएर २० लाख लगानी गरे । श्रेष्ठले नाफा बाँड्ने र ३ वर्षपछि बाहिरने गरी सो रकम लगानी गरेका हुन् ।

हरेक शार्कको उद्यमीलाई हेर्ने, बुझ्ने तरिका आ-आफ्नै हुन्छन्, त्यस कारण कसको बिजनेस मोडेल कसलाई मन पर्न सक्छ भन्ने कौतुहलताले शो को दौरानमा  दर्शकलाई पनि रोमाञ्चित बनाइरहेको हुन्छ । उद्यमीको कम्पनीको अवस्थाबारे लेखाजोखा गरेर आफूले लगानी गर्ने शार्क ऋतु सिंह वैद्यको भनाइ छ । शार्क आनन्द बगरिया भने कम्पनीको ब्यालेन्स सिट हेरेर लगानी गर्ने बताउँछन् ।

शार्क सौरभ ज्योति भने उद्यमीमा सकारात्मक ऊर्जा, काम गर्ने भरपुर जोस र इमानदारीतामा अलि जोड दिन्छन् ।

कहिलेबाट सुरु भएको थियो बिजनेस रियालिटी शो ?

शार्क ट्याङ्क पहिलोपटक सन् २००९ को अगस्ट महिनामा अमेरिकाको ABC च्यानलमा प्रसारण गरिएको थियो। यो कार्यक्रम जापानी रियालिटी शो ‘Tigers of मोनी’ (माने नो तोरा)’ को अमेरिकी संस्करण थियो, जुन सन् २००१ मा जापानमा पहिलोपटक प्रसारण गरिएको थियो । कार्यक्रमको ढाँचा भने त्यही जापानी संस्करणमै आधारित छ । विभिन्न देशमा यो कार्यक्रमको स्थानीयकरण गरिएको छ ।

यो ढाँचको लोकप्रियतासँगै यसको अन्तर्राष्ट्रिय फ्रेन्चाइज ‘Dragons’ Den’विकास गरियो । यसको सुरुवात, सन् २००५ मा बेलायतबाट भयो ।

अनेकौँ रियालिटी शो प्रसारित हुने भारतमा हाल शार्क ट्यांकको चौथो सिजन चल्दै छ । शार्क ट्यांक इन्डियाका शार्क्समध्ये एक अमन गुप्ता शार्क ट्यांक नेपाल सिजन वान प्रशासरण हुने छेकोमा नेपाल आएका थिए । उनी इलेक्ट्रोनिक्स ब्रान्ड boAT  का सह-संस्थापक हुन् ।  उनले उद्यमशीलताको सोच राख्नेहरूलाई ठूलो सपना राखेर मिहिनेत गर्न सुझाएका छन् । ‘उद्यमशीलतामा लगानी जुटाउने विषय अहिले त्यतिधेरै चुनौतीपूर्ण छैन । ठूलो सपना देख्नुस्, मिहेनत गर्नुस् । विश्व तपाईंका लागि खेलमैदान बन्ने छ,’ उनले भनेका छन् ।

शार्क ट्यांक नेपाल कार्यक्रमको प्रशारणपछि नवउद्यमीहरू पनि उत्साहित छन् । सुरु सुरुमा त्यहाँ आफ्नो आइडिया लाँदा त्यस सोचका आधारमा अरूले व्यापार गर्लाकी भन्ने त्रास भए पनि एपिसोडहरूमा सहभागीहरूको निर्धक्क प्रस्तुति देखेर उक्त डर हटेको अनुभव सुनाउँछन् सन्तोष यादव । माछाहरूमा देखिने रोग र उपचारबारे किसानलाई प्रविधिमार्फत जानकारी दिने कम्पनी डाक्टर फिसका प्रमुख कार्यकारी अधिकृत यादव भन्छन्, ‘सबैजनाले आफ्नो आइडिया पिच गरेर लगानीको प्रस्ताव राखेको देख्दा हामी उत्साहित छौँ । हामी जस्ता युवाहरूसँग सोच भए पनि लगानीको अभावले व्यवसाय विस्तार रोकिन्थ्यो । अब ती समस्या विस्तारै हट्लान् भन्ने आभाष भएको छ ।’

शार्क ट्यांक नेपालले स्टार्टअप्सको आत्मविश्वास बढाउने उनी बताउँछन् । शार्क ट्यांक नेपालको अर्को सिजनमा सहभागी हुने उनको योजना छ ।

स्टार्ट-अप्स र साना उद्यमहरूलाई बढावा दिने जतिसुकै कुरा भए पनि  उद्यम गर्न चाहने, स्टार्टअप्स सुरु गर्न खोज्नेहरूलाई नेपालमा त्यति सजिलो भने छैन । नीतिको अभाव, सरकारको बेवास्ता, पूर्वाधारको अभाव, प्रशासनिक झन्झट, राजनीतिक अस्थिरता, देशको आर्थिक अवस्था आदि इत्यादि कारणहरूले पनि नेपालमा स्टार्टअप्स र उद्यम सुरु गर्न कठिनाइ छ । यी कठिनाइका बीच पनि स्टार्टअप्सको तीव्र विकास र वृद्धि भइरहेको देखिएको छ ।  विशेष गरी सफ्टवेयर, एडुटेक (शिक्षा प्रविधि), र फिनटेक (वित्त प्रविधि) को क्षेत्रमा नेपालको स्थान आशाप्रद छ ।

स्टार्ट-अपब्लिंक ग्लोबल स्टार्ट-अप इकोसिस्टम इन्डेक्समा नेपालको स्थान विश्वभर १०७औं छ भने, दक्षिण एसियामा पाँचौँ स्थानमा छ । सरकारले पनि  साना उद्यम र स्टार्टअप्सको आवश्यकता र भूमिकालाई मध्यनजर गर्दै हालै औद्योगिक व्यवसाय नियमावलीलाई संशोधन गरेर स्टार्टअप्सलाई परिभाषित गर्न खोजेको छ।

स्टार्टअपजस्ता साना उद्यमलाई लगानी व्यवस्थापन गर्दै आएको आध्यान्त फन्ड म्यानेजमेन्टका हेड अफ प्रोग्राम निश्चलसिंह भण्डारी शार्क ट्यांक जस्तो कार्यक्रम नेपालमा आउनु उद्यम गर्न खोज्नेका लागि धेरै राम्रो रहेको बताउँछन्  ‘शार्क ट्यांक नेपालले नेपालको स्टार्टअप्स क्षेत्रमा कत्तिको राम्रो गर्न सक्छ त्यो भोलिको कुरा हो । तर, आज जुन तरिकाले आएको छ त्यो राम्रो हो । स्टार्टअप व्यवसायीलाई लगानी मात्र नभएर प्रोत्साहन र सहयोगको पनि आवश्यकता पर्छ,’ उनले भने, ‘हाम्रो पनि उद्देश्य त स्टार्टअपहरूलाई उकास्ने नै हो तर नेपालमा धेरै स्टार्टअप छन् जुन सबैमा हामी पुग्न सक्दैनौँ त्यै पनि हामीले त स्टार्टअपलाई लगानीकर्ता खोजिदिन्छौँ । शार्क ट्यांकमा स्टार्टअपले ठूला उद्यमीको लगानी पाउँछन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved