काठमाडौं । ‘त्यहाँ बम विस्फोट भएको छ, मलाई बमको छर्राले लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ । म विस्फोटमा परेको छुँ,’ काठमाडौंको रिपोटर्स क्लबमा यसो भनिरहँदा गौरीशंकर राम चमारका आँखा भरिएका थिए । गएका १८ वर्षदेखि उनी बारम्बर यही कुरा दोहोर्याइरहेका छन् । तर, दुर्भाग्य अदालतले समेत उनको कुरा पत्याएन ।
अदालतले आफ्नो कुरा नपत्याएपछि उनी सार्वजनिक मञ्चबाट चिच्याइरहेका छन्, ‘आलाम बमकाण्डको घाइते हुँ म ।’
रिपोटर्स क्लबको आँगनमा उभिएर उनी १८ वर्ष पुरानो कहालीलाग्दो दिन सम्झिरहेका थिए । रौतहटका कांग्रेस नेता मोहमद अफताव आलमका नातेदार मुस्ताक राजाको ईंटा भट्टामा काम गर्ने गौरीशंकर २७ चैत २०६४ को साँझ काम गरेको ज्याला लिन भनी आलमको घरसँगै जोडिएको मुस्ताकको घर जाँदै थिए ।
बाटैमा पर्ने आलमका काका शेख इद्रिसको घरको ढोका अगाडि पुग्ने बित्तिकै केही पड्किएजस्तो आवाज आयो । ‘बम पड्कियो, आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी (शरिरमा) हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? मेरो आँखा खुल्दा म सीतामढी (भारतको बिहारस्थित अस्पताल) मा थिएँ ।’
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सकेको प्रतिवेदनअनुसार २७ चैतको साँझ करिब ७ बजेतिर बम विस्फोट भएको थियो ।
मोहमद अफताव आलमले २०६४ को संविधानसभा चुनावमा धाँधली गर्ने र बुथ कब्जा गर्ने मनसायसहित बम विस्फोटको योजना बनाएका थिए । तर, चुनावको अघिल्लो दिन नै बम विस्फोट भयो । इन्सेकका अनुसार बम बनाउने क्रममा प्राविधिक गडबडी भएर बम विस्फोट भएको थयो । यो विस्फोटमा रौतहटका त्रिलोकप्रताप सिंह र ओसी अख्तरको ज्यान गयो । परिचय नखुलेका एक जना भारतीय नागरिक पनि यो विस्फोटमा मारिए । यी मृतकसहित अरु घाइतेलाई आलमको निर्देशनमा ईंटा भट्टामा हालेर मारियो भन्ने आरोप छ ।
घटना भएको १२ वर्षपछि असोज २०७६ मा प्रहरीले आलमलाई पक्राउ गर्यो । पक्राउ पर्दा आलम प्रतिनिधिसभा सदस्य थिए । २०६४ देखि ०७६ सम्म उनी तीनपटक सांसद भए, एकपटक श्रम तथा यातायत मन्त्री भए । सत्ताशक्तिको आडमा जोगिँदै आएका आलमले अदालतबाट पनि सफाइ पाए । २७ चैत २०६४ मा ‘बम विस्फोट नै नभएको’ दाबी गर्दै उच्च अदालत जनकपुर वीरगञ्ज अस्थायी इजलासले आलमलाई १४ जेठ ०८२ मा सफाइ दियो ।
अदालतले ‘बम नै विस्फोट नभएको’ भनेपछि गौरीशंकर छटपटिएका छन् । भारतको बिहार राज्यस्थित सितामढीका गौरीशंकरले बम विस्फोटका कारण दुवै कान गुमाउनुपर्यो । उनको अनुहार, छाती जलेको छ । ४३ वर्षे गौरीशंकर यतिखेर न्यायको खोजीमा भारतबाट नेपाल आइपुगेका छन् ।
अदालतले गौरीशंकारको बयान र प्रयोगशालामा गरिएको उनको जाँचका प्रमाणसमेत अस्वीकार गर्दै आलमलाई सफाइ दियो । २७ चैतमा बम विस्फोट भएको र मान्छेसमेत मारिएको भन्दै इन्सेक र राष्ट्रिय मानवअधिकार आयोगले उहिल्यै प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । ती प्रतिवेदनमा बम विस्फोट भएको घरको फोटो र विस्फोटपछि क्षतिग्रस्त घरमा गरिएको पुनःनिर्माणको फोटो पनि राखिएको छ । तर, अदालतले भने विस्फोटको फोटो नै नदेखिएको हुँदा विस्फोट भएको छैन भनेर आलमलाई चोख्यायो ।
अदालतले विस्फोट नभएको दाबी गरे पनि बम विस्फोट हुनुअगाडि नै निर्वाचन आयोगमा आलमले विस्फोटक पदार्थ जम्मा गरेको भन्दै उजुरी परेको थियो । नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नम्बर– २ मा उम्मेदवारी दिएका आलमले विस्फोटक पदार्थसहित धाँधली गर्न लागेको भन्दै विस्फोट भएको अघिल्लो दिन २६ चैतमा निर्वाचन कार्यालयमा उजुरी परेको थियो ।
जिल्ला निर्वाचन कार्यालय रौतहटमा शैलेन्द्र साहले आलमको गाउँमा विस्फोटक पदार्थ भण्डारण गरिएको जानकारीसहित उजुरी दिएका थिए । पहिलो संविधानसभा चुनावमा एमालेबाट रौतहट–२ का उम्मेदवार थिए साह ।
साहले गृह मन्त्रालय, रौतहटस्थित सशस्त्र प्रहरी र रौतहट जिल्ला प्रशासन कार्यालयमा बोधार्थसहित उजुरी गरेका थिए । साहले दिएको सो उजुरी रौतहट जिल्ला प्रशासन कार्यालयमा ३८४६ नम्बरमा दर्ता भयो । जिल्ला निर्वाचन कार्यालयमा २ नम्बरमा दर्ता भयो । तर, त्यो उजुरीमाथि सुनुवाइ नै भएन ।
साहले दिएको उजुरीमा भारतको विभिन्न स्थानबाट गुण्डा आएको कुरा पनि उल्लेख छ । साहले उजुरीमा भारत ढाका घर भएका शेख नेक महम्मद र कुण्डा चैनपुर घर भएका सुरेश मस्तानको नेतृत्वमा १ सयभन्दा धेरै भारतीय नागरिक निर्वाचनमा विस्फोट गराउन आलमले मगाएको उल्लेख गरेका थिए ।
उजुरीमा साहले लेखेका थिए, ‘क्षेत्र नं २ मा भारत ढाका घर भएका शेख नेक महम्मद र कुण्डवा चैनपुर घर भएको सुरेश मस्तानाको कमाण्डमा भारतीय १ सय जनाभन्दा बढी बदमास (गुण्डा)हरू जुन प्रहरीबाट खोसिएको हातहतियारसहित राजपुर फरहदवामा प्रवेश गरेको भनी विशेष सूत्रबाट थाहा पाएको..।’
साहले भारतबाट गुण्डा र विस्फोटक पदार्थ मगाएर चुनाव बिथोल्न लागेको उजुरी दिएपछि रौतहटका तत्कालीन एसपी लक्ष्मण नेउपानेले उल्टै साहको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै फिर्ता मगाएका थिए ।
२७ चैतमा बम विस्फोट भएपछि साहसहित ९ जनाले तत्कालीन संविधानसभा अदालतमा आलमविरुद्ध उजुरी हालेका थिए । साहसहित सुरेन्द्रप्रसाद जयसवाल, अब्दुल जवार, नागेन्द्रप्रसाद सिन्हा, जगलाल साह, रामविनोद साह सुनार, असगर अलि खाँ, सोहनप्रसाद गुप्ता, विजेन्द्रप्रसाद मोहम्मद अब्बासले घटनाको ३ दिनपछि (३० चैत, २०६४)मा संविधानसभा अदालतमा उजुरी दिएका थिए । तर, संविधानसभा अदालतमा उजुरी पुगे पनि त्यो उजुरीमाथि सुनुवाइ भएन ।
संविधानसभा अदालतमा दिएको उजुरीमा साहले घटना हुन सक्ने सम्भावित जानकारी गराउँदा पनि प्रहरी, निर्वाचन आयोग र प्रशासनले चासो नदेखाएकाले प्रहरी प्रशासन र आलमको मिलेमतोमा घटना लुकाउन खोजेकाले प्रहरी र प्रशासनमाथि पनि छानबिन गर्न माग गरेका थिए ।
संविधानसभा अदालतलाई दिइएको उक्त उजुरीमा साहले विस्फोटनमा घाइते भएकाहरूको भारतको पटनास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उल्लेख गरेका थिए ।
संविधानसभा अदालतसम्बन्धी कानुन २०६४ साउनमा पारित भएको थियो । सर्वोच्च अदालतका न्यायाधीश रहने यो अदालत ३ सदस्यीय हुने व्यवस्था थियो ।
यो अदालतले निर्वाचनमा विजयी उम्मेदवारको योग्यताको विषयमा निर्णय गर्ने अधिकार थियो । यस बाहेक निर्वाचन वा त्यसको परिणाम नै बदर गर्ने अधिकार पनि अदालतलाई थियो । संविधानसभाको हकमा यही अदालतको निर्णय नै अन्तिम हुने व्यवस्था थियो ।

साहले विभिन्न निकायमा उजुरी दिँदा पनि आलममाथि अनुसन्धान हुनुको सट्टा उनलाई मन्त्री बनाइयो । २०६६ मा एमाले नेता माधव नेपालको नेतृत्वमा सरकार बन्ने तयारी भयो । नेपाल नेतृत्वको सरकारमा आलमलाई पनि मन्त्री बनाइन लागेको थाहा पाएपछि साहले नेपाललाई भेटेका थिए ।
साहले नेपाललाई आलमले गरेको नरसंहारको जानकारी पनि गराएका थिए । आफ्नै पार्टी कार्यकर्ताको कुरा नसुनेर नेपालले आलमलाई श्रम तथा यातायातमन्त्री बनाई छाडे । साह सम्झिन्छन्, ‘मैले त्यतिखेर आलामको सबै कुरा भनेपछि माधव नेपालले हुन्छ म हेरौँला भन्नुभयो र आलमलाई मन्त्री बनाउनुभयो ।’
यसरी बारम्बार शक्तिको छायाँमा आफूलाई जोगाउँदै आएका आलम यसपटक पनि अदालतको आडमा जोगिएका छन् । ‘बम विस्फोट नभएको’ दाबी गरिरहेको अदालतलाई गुहार्दै गौरीशंकर भन्छन्, ‘बम विस्फोट भएको छ । मलाई त्यसै(त्यही) बम लागेको हो, म घाइते हो । मै त प्रमाण हो- बम विस्फोटको ।’
न्यायको गुहार लगाइरहेका गौरीशंकरका अनुसार उनीसँगै उनको गाउँका अरु दूई जना पनि विस्फोटमा घाइते भएका थिए । ‘मेरो गाउँको अरु मान्छे पनि जलेका छन्, एक जनाको हातमा एक जनाको आँखामा चोट छ,’ उनले सुनाए ।
आलममले विस्फोट गराएको बममा परेर घाइते भएको शरीर बोकेर १८ वर्षदेखि न्यायको गुहार लगाइरहेका गौरीशंकर आजित भइसके । बमले उडाएका कान र जलेको छाती देखाउँदै उनी भन्छन्, ‘यस्तो अवस्था छ, तमासा जस्तो भइसक्यो, जहाँ पनि गयो मान्छेहरु बम पड्केको यही मान्छे हो भन्दै फोटो खिच्छन् । म मर्ने कि बाँच्ने ? कसरी बाँचौँ म यो दुनियाँमा ?’
आफ्नो पीडाको बारम्बार तमासा भएपछि उनी आजभोलि मुख छोपेर हिँड्न थालेका छन् । गौरीशंकर मुख छोपेर हिँड्न थालेपछि उनीसँगै छेउमा उभिएका शैलेन्द्र साह प्रश्न गर्छन, ‘पीडितले मुख लुकाउनुपर्छ, अपराधीले शिर ठाढो पार्ने अवस्था जति लाजमर्दो के होला र ?’
Facebook Comment
Comment