काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीमा परी अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । जसमा १५ बालबालिका पनि छन् ।
टेक्सास प्रशासनले राहत र उद्धार कार्यका लागि ठूलो संख्यामा उद्धारकर्मीहरू खटाएको छ ।
टेक्सासको केर काउन्टी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले यस क्षेत्रमा ४३ जनाको मृत्यु भएको छ र ग्वाडालुप नदीको किनारमा अवस्थित क्रिश्चियन युवा शिविरबाट २७ जना बेपत्ता भएको बीबीसीले जनाएको छ । बेपत्तामध्ये धेरै १२ वर्षभन्दा मुनिका थिए ।
सबैजना फेला नपरेसम्म अधिकारीहरूले खोजी जारी राख्ने केर काउन्टीका शेरिफ ल्यारी एल. लेथाले जानकारी दिए ।
अहिलेसम्म ८५० जनालाई उद्धार गरिएको छ ।
ट्राभिस काउन्टी र टम ग्रीन काउन्टी लगायत राज्यका अन्य भागहरूमा पनि केहीको मृत्यु पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले यस आपत्कालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएको छ ।
त्यहाँको मौसम विभागले आफ्नो पूर्वानुमानमा यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको बताएको छ । जसका कारण बाढीको सम्भावना पनि छ ।
राष्ट्रिय मौसम सेवा (NWS) ले शनिबार उक्त क्षेत्रमा २ देखि ५ इन्च (५ देखि १२ सेन्टिमिटर) वर्षा हुन सक्ने बताएको छ । केही क्षेत्रमा १० इन्चसम्म वर्षा हुन सक्छ ।
Facebook Comment
Comment