काठमाडौं । नेपालले एसीसी इस्ट जोन कपको उपाधि जितेको छ ।
मलेसियाको यूकेएम वाईएसडी ओभलमा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि जोय थापाले २४ रन जोडे । शिवान्स बजगाईंले २० रन बनाउँदा शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए ।
सिंगापुरका लागि कापिश भेनक्रान्तामानले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४०.५ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।
सिंगापुरका लागि रोहन अस्टिन अरुणले २३ रन बनाए । कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि अभय यादव र सुशिल रावलले तीन/तीन विकेट लिए । शुभम खनालले दुई तथा विपिन शर्माले एक विकेट लिए ।
Facebook Comment
Comment