दलाई लामा : जसले अब १५ ‌औँ पुनर्जन्म लिनेछन्

नेपालभ्युज

दलाई लामा : जसले  अब १५ ‌औँ पुनर्जन्म लिनेछन्

एजेन्सी । तिब्बती बौद्ध धर्मका सर्वोच्च आध्यात्मिक गुरु दलाई लामाले  दलाई लामा संस्था भविष्यमा पनि निरन्तर रहने बुधबार घोषणा गरे । यसको सिधा अर्थ हो कि वर्तमान दलाई लामाको मृत्युपछि पनि उनको उत्तराधिकारी हुनेछ ।

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित म्याक्लोडगन्जमा तिब्बती बौद्ध धर्मका वरिष्ठ लामाहरूको धार्मिक बैठक भएको थियो । यसमा दलाई लामाले रेकर्ड गरिएको भिडिओ सन्देशमार्फत  दलाई लामा संस्थाले निरन्तरता पाउने बताएका हुन् ।

पछिल्ला केही दिनदेखि यो सम्भावना व्यक्त गरिएको थियो कि आफ्नो ९०औं जन्मदिनको केही दिनअघि दलाई लामाले आफ्नो उत्तराधिकारीबारे कुनै ठूलो घोषणा गर्न सक्छन् । उनको सन्देशले भविष्यमा दलाई लामा संस्था कायम रहन्छ कि रहँदैन भन्ने अनुमानमाथि रोक लगाइदिएको छ । तर, अझै पनि यो प्रश्न बाँकी छ  के वर्तमान दलाई लामाले आफ्नो जीवनकालमा आफ्नो पुनर्जन्मबारे कुनै संकेत दिनेछन् ?

यो प्रश्नको जवाफमा दलाई लामाको कार्यालयअन्तर्गत सञ्चालित गादेन फोडराङ ट्रस्टका उपाध्यक्ष सामधोङ रिन्पोछेले भनेका छन्, ‘दलाई लामा संस्था निरन्तर रहनेछ । १४ औं दलाई लामापछि १५ औं दलाई लामा हुनेछन्, १६ औं दलाई लामा हुनेछन् । यो सहमति भएको छ । उनी कहिले आउनेछन्, कसरी मान्यता प्राप्त गर्नेछन्, यो पूर्ण रूपमा फरक प्रश्न हो । जब समय आउनेछ, उनले (दलाई लामाले) निर्देशन दिनेछन् ।’

दलाई लामाको सन्देश

सन् २०११ मा दलाई लामाले तिब्बती जनताले भविष्यमा दलाई लामाको पुनर्जन्मलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय गर्नुपर्ने बताएका थिए  । यो कुरालाई लिएर तिब्बती बौद्ध धर्मका अनुयायीहरूमा निरन्तर चिन्ता कायम थियो ।

आफ्नो सन्देशमा दलाई लामाले भनेका छन्, ‘यद्यपि मैले यो विषयमा कुनै सार्वजनिक छलफल गरेको छैन, तर पछिल्ला १४ वर्षमा तिब्बतका आध्यात्मिक परम्पराका नेताहरू, निर्वासित तिब्बती संसद्का सदस्यहरू, विशेष साधारणसभामा सहभागीहरू, केन्द्रीय तिब्बती प्रशासनका सदस्यहरू, गैरसरकारी संगठनहरू, हिमालय क्षेत्र, मंगोलिया, रूसी संघका बौद्ध गणतन्त्रहरू र चीनसहित एसियाका बौद्धहरूले मलाई कारणसहित पत्र लेखेर दलाई लामा संस्थालाई निरन्तरता दिन आग्रह गरेका छन् ।’

दलाई लामाले तिब्बतमा बस्ने तिब्बतीहरूबाट विभिन्न माध्यममार्फत उनलाई यस्तै अपिल प्राप्त भएको बताएका छन्  ।

दलाई लामाले भने, ‘यी सबै अनुरोधहरूअनुसार, म पुष्टि गर्छु कि दलाई लामा संस्था निरन्तर रहनेछ ।’ उनले यो पनि भने कि अर्को दलाई लामालाई मान्यता दिने जिम्मेवारी गादेन फोडराङ ट्रस्टको हुनेछ, जुन उनकै कार्यालयको हिस्सा हो ।

आफ्नो सन्देशमा दलाई लामाले भनेका छन्, ‘उनीहरू (गादेन फोडराङ ट्रस्टका सदस्यहरू) ले तिब्बती बौद्ध परम्पराका विभिन्न प्रमुखहरू र दलाई लामाहरूको वंशावलीसँग अविभाज्य रूपमा जोडिएका विश्वसनीय शपथबद्ध धर्म रक्षकहरूसँग परामर्श गर्नुपर्छ । उनीहरूले विगतका परम्पराहरूअनुसार खोजी र पहिचानको प्रक्रिया पूरा गर्नुपर्छ ।’

दलाई लामाले  गादेन फोडराङ ट्रस्टलाई नै अर्को दलाई लामाको पुनर्जन्मलाई मान्यता दिने एक मात्र अधिकार रहेको उल्लेख गर्दै अन्य कसैलाई पनि यो विषयमा हस्तक्षेप गर्ने अधिकार नभएको बताएका छन् ।

यो बयानमार्फत दलाई लामाले अप्रत्यक्ष रूपमा चीनतर्फ संकेत गरेको मानिन्छ, जसले अर्को दलाई लामा चिनियाँ कानुनअनुसार बन्नुपर्ने दाबी गर्छ ।

निर्वासित तिब्बती सरकार वा केन्द्रीय तिब्बती प्रशासनका राष्ट्रपति पेन्पा सेरिङले पनि चीनलाई स्पष्ट सन्देश दिएका छन् ।

सेरिङले भने, ‘परम पवित्र दलाई लामाको पुनर्जन्मलाई मान्यता दिने मूल प्रक्रिया अद्वितीय तिब्बती बौद्ध परम्परासँग मेल खान्छ । त्यसैले हामी जनवादी गणतन्त्र चीनले आफ्नो राजनीतिक फाइदाका लागि पुनर्जन्म विषयको उपयोग गरेको कुराको कडा निन्दा मात्र गर्दैनौं, यसलाई कहिल्यै स्वीकार पनि गर्दैनौं ।’

दलाई लामाको सन्देशलाई खारेज गर्दै चीनको विदेश मन्त्रालयले भने उनको पुनर्जन्मलाई चिनियाँ सरकारको स्वीकृति आवश्यक रहेको बताएको छ । चीनले दलाई लामाको उत्तराधिकार प्रक्रियामा चिनियाँ कानुन र नियमहरूका साथै ‘धार्मिक अनुष्ठान र ऐतिहासिक परम्पराहरू’ को पालना गर्नुपनर्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारीको पहिचान सुनौलो कलशबाट नाम निकाल्ने लटरी प्रणालीमार्फत मात्र गर्न सकिने बताएका छन् ।  यो प्रथा सन् १७९२ मा सुरू भएको थियो र यसलाई विगतका लामाहरू छान्न प्रयोग गरिएको थियो, तर आलोचकहरूले चिनियाँ अधिकारीहरूले यसमा हेरफेर गरेको आरोप लगाउँछन् ।

चीनले यो आरोपको खण्डन गर्छ । उसको भनाइ छ कि यो प्रथा तिब्बती बौद्ध धर्मको एक ‘अद्वितीय रूप’ हो र चिनियाँ सरकारको ‘धार्मिक स्वतन्त्रताको विश्वास’ को अभ्याससँग मेल खान्छ ।

आफ्नो उत्तराधिकारीबारे दलाई लामाले जे भने, त्यसपछि म्याक्लोडगन्जमा उपस्थित सयौं तिब्बती मूलका मानिसहरूमा खुसीको लहर फैलियो ।

तिब्बती बौद्ध धर्म अनुयायी तेन्जिन छेमेले भनेका छन्, ‘म आज धेरै खुसी छु । परम पवित्रको सन्देश आएको छ, उनले बताएका छन् कि दलाई लामा संस्था निरन्तर रहनेछ । यो निर्णयका लागि हामी सबै तिब्बती र बौद्धहरू प्रार्थना गरिरहेका थियौं र त्यो पूरा भएको छ । (अर्को दलाई लामाको खोजीको) कुनै हतार छैन कि यो को हुनेछ, कहाँ हुनेछ, कसरी हुनेछ । यसले यो पनि संकेत गर्छ कि परम पवित्र अझै धेरै वर्ष हामीसँग रहनेछन् ।’

केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता तेन्जिन लेखशेले भनेका छन्, ‘अहिले हामीसँग समय छ । परम पवित्र जी जीवित हुनुहुन्छ । सबैलाई विश्वास छ कि परम पवित्रको पुनर्जन्मको अधिकार परम पवित्रकै हातमा छ । सबैको इच्छा छ कि परम पवित्रको संस्था निरन्तर रहोस् र परम पवित्रले आश्वासन दिनुभएको छ कि यो संस्था कायम रहनेछ । यो भन्दा राम्रो कुरा के हुन सक्छ?’

तिब्बती बौद्ध भिक्षु लोबसाङ वाङ्दुले भने, ‘धेरै राम्रो लाग्यो । खुसी भयो । दलाई लामाको पुनर्जन्म हुन्छ कि हुँदैन, हामीलाई त्यसको चिन्ता थियो । आज दलाई लामाले घोषणा गर्नुभयो, त्यसैले सबै धेरै खुसी भएका छन् ।’

अर्को दलाई लामा को हुनेछ ?

अर्को दलाई लामा को हुनेछ भन्ने तय गर्न लामो प्रक्रियाको पालना गरिन्छ । तिब्बती बौद्ध धर्ममा दलाई लामालाई छानिदैन, बरु खोजिन्छ । यो मानिन्छ कि मृत्युपछि दलाई लामा नयाँ शरीरमा जन्म लिन्छन् ।

उनको निधनपछि वरिष्ठ भिक्षुहरूले यस्तो विशेष बालकको खोजी गर्छन्, जो दलाई लामाको अर्को अवतार हो । तर, यो खोजी यत्तिकै हुँदैन ।

सबैभन्दा पहिले बौद्ध भिक्षुहरूले केही आध्यात्मिक संकेतहरूको गहिरो अध्ययन गर्छन् । जस्तै, यस अवधिमा वरिष्ठ भिक्षुहरूले देख्ने सपनाहरूमा आएका छविहरूको विश्लेषण गरिन्छ ।

यो हेरिन्छ कि मृत्युको समयमा दलाई लामाको शव कुन दिशातर्फ थियो वा उनको मुद्रा कस्तो थियो । दाहसंस्कारको समयमा धुवाँको दिशालाई पनि संकेत मानिन्छ । यी सबैको उद्देश्य यो थाहा पाउनु हो कि दलाई लामाको अर्को जन्म कुन दिशा वा क्षेत्रमा भएको हुन सक्छ ।

त्यहाँ एक विशेष ताल छ—ल्हामो लात्सो । यो तिब्बतको राजधानी ल्हासाबाट करिब १५० किलोमिटर टाढा छ । भिक्षुहरू यहाँ ध्यान गर्छन् र मान्छन् कि तालको पानीमा पनि भविष्यका दलाई लामाका संकेतहरू देखिन्छन् ।

यी सबै संकेतहरूको आधारमा भिक्षुहरू र अधिकारीहरूको एक टोलीले तिब्बत र हिमालय क्षेत्रहरूको यात्रा गर्छ ।

उनीहरू यस्ता बालबालिकाको खोजी गर्छन्, जसको जन्म दलाई लामाको मृत्युको समयको आसपास भएको हो, जसमा असाधारण बुद्धि र असामान्य गुणहरू छन् वा उनीहरूले केही महत्त्वपूर्ण कुराहरू सम्झन सक्छन् ।

जब केही बालबालिकाहरूको पहिचान हुन्छ, तब तिनीहरूको परीक्षण शुरू हुन्छ । यी बालबालिकाहरूलाई केही चीजहरू दिइन्छ ।

तीमध्ये केही विगतका दलाई लामाका प्रिय चीजहरू हुन्छन् र केही अन्य हुन्छन् । जुन बालकले सही चीजहरू पहिचान गर्छ, त्यसलाई दलाई लामाको सम्भावित पुनर्जन्म मानिन्छ ।

यदि त्यो बालकले विगतका दलाई लामाको कुनै नजिकको व्यक्ति, स्थान वा वस्तुलाई पहिचान गर्छ भने यसलाई थप बलियो संकेत मानिन्छ ।

यी परीक्षणहरूपछि ज्योतिषीय गणनाहरू र गहन आध्यात्मिक छलफलहरू हुन्छन् । जब सबै कुरा मेल खान्छ, तब त्यो बालकलाई आधिकारिक रूपमा नयाँ दलाई लामा घोषणा गरिन्छ ।

त्यसपछि त्यो बालकलाई एक मठमा लगिन्छ । यहाँ उनलाई बौद्ध शिक्षा र आध्यात्मिक प्रशिक्षण दिइन्छ । वर्षौंको साधनापछि उनी दलाई लामाको भूमिकामा काम गर्न थाल्छन् ।

रोचक तथ्य

रोचक कुरा के छ भने जब वर्तमान दलाई लामा अझै जीवित छन्, तब उनको पुनर्जन्मको खोजीको कुरा कसरी आयो ?

वर्तमान दलाई लामाले पहिल्यै भनिसकेका छन् कि उनले आफ्नो जीवनकालमै आफ्नो उत्तराधिकारीको नाम घोषणा गर्न सक्छन् ।

त्यसैले यो मानिएको थियो कि उनको ९०औं जन्मदिनको आसपासमा उनले केही यस्ता संकेत वा निर्देशनहरू दिन सक्छन्, जसले उनको उत्तराधिकारी छान्नमा सहजता होस् र यो परम्परालाई सरल राख्न सकियोस् । बीबीसीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved