काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने भएका छन् । नेपालले घरेलु टोलीलाई र सिंगापुरले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हरायो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो ।
यता, सिंगापुरले हङकङलाई ४ विकेटले हराएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले ४३.५ ओभरमा सबै विकेट गुमार १६८ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । गत २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
फाइनल खेल आगामी जुलाई ५ मा मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ ।
Facebook Comment
Comment