काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले सार्वजनिक रुपमा आफूमाथि लगाइएका टिप्पणी र व्याख्याप्रति आपत्ति जनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेकी छन् ।
असार १५ गते आयोजित पार्टीको युवा संगठनको प्रशिक्षण कार्यक्रममा उनले राखेको विचारका अंशहरूलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोडमोड गरी प्रस्तुत गरिएको भन्दै झाँक्रीले गम्भीर आपत्ति जनाएकी हुन् ।
झाँक्रीले लुम्बिनी प्रदेशमा युवा संघकाे प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै अर्ली महाधिवेशनको माग गरेकी थिइन् । उनको अभिव्यक्तिको चर्को आलोचना भएपछि महासचिव घनश्याम भुसालले निर्देशनात्मक पत्र जारी गर्दै जथाभावी नबोल्न सचेत गराएका थिए ।
बिहीबार पार्टी कार्यालयमा पुगेर उनले दर्ता गरेको पत्रमा भनिएको छ, “मेरा भनाइहरूलाई गलत सन्दर्भमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा ‘बडीसेमिड’जस्ता आरोप लगाइएको छ, जुन सरासर भ्रमपूर्ण र बदनियतपूर्ण छ ।”
उनले स्पष्ट रूपमा आफूले कसैको व्यक्तिगत स्वरूप वा आचरणप्रति अवहेलना गर्न खोजेको नरहेको दाबी गरेकी छन् । झाँक्रीले पार्टीभित्र विचार राख्न पाउने अधिकारलाई सधैं सम्मान गर्दै आएकी बताउँदै भनिन्, “मैले विगतमा पनि विचार र बहसको पक्षमा उभिँदै आएकी छु, तर यसरी व्यक्तिगत स्तरमा अपमान गर्ने प्रयासहरूको म भर्त्सना गर्छु ।”
उनले लेखेकी पत्रमा पार्टी नेतृत्वले सत्यतथ्य बुझी आफूले उठाएका विषयहरूलाई वस्तुगत ढंगले बुझ्न आग्रह गरेकी छन् ।
पत्र –
कमरेड अध्यक्ष
मितिः २०८२ असार १९
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी ।
विषयः मेरो स्पष्टीकरणका सम्बन्धमा ।
कमरेड अध्यक्ष, मैले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेला राखेका विचारहरूको सम्बन्धमा सार्वजनिक रूपमा विभिन्न टिका टिप्पणिहरू भइरहेका छन् । यसैको प्रतिक्रिया स्वरूप हाम्रो पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया र सोसल मिडिया र भर्चुवल प्लेटफर्ममा समेत मेरा विरुद्ध र राजनीतिक प्रतिशोधले व्यक्तिगत लान्छना लगाउदै, मेरो व्यक्तिगत स्वास्थ्य र ‘बढीसेमिङ’ गरेर हिंसात्मक ढंगले बोलिरहनु भएकोप्रति मेरो पनि ध्यानाकर्षण भएको छ । यसरी उहाँहरू बोलिरहदा पार्टी नेता र पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु । पार्टी महासचिवले असार १५ गते निर्देशन जारी भएपछि पछि, मैले यो विषयमा कहिकतै प्रतिक्रिया दिइन । पार्टीको मेरो तहको बैठकमा नै यो विषय कुरा राख्ने छु भनेर पनि चुप बसेको थिएँ । तर, पार्टी केही जिम्मेवार सदस्य र पदाधिकारीहरू सुरूदेखि नै मिडियामा आएर निरन्तर बोलिरहनु भएको छ । प्रतिक्रिया दिईरहनु भएको छ । यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जानकारी छ भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । यो विषयमा मैले स्पष्ट गर्नु पर्ने नै हुन्छ । सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा म सार्वजनिक मिडिया बनाउन चाहान्न । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनि सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन । जिम्मेवार पदाधिकारीले सार्वजनिक रूपमा व्यक्त भ्रामक कुराले मलाई भन्दा धेरै पार्टीलाई क्षति भएको महसुस गरेको छु । तसर्थ मेरो अभिव्यक्तिको बारेमा उठाईएका हर प्रकारका प्रश्नहरूको जवाफ वा स्पष्टीकरण दिने ठाउ चलिरहेको सचिवालयको बैठक पनि हो भन्ने ठानेको छु । अकी कमिटी बैठक पर्खिदासम्म त धेरै नराम्रो सन्देश जाने निश्चित नै छ । त्यहाँ के भएको हो र मैले अभिव्यक्त विचार के हुन् ? भन्ने सन्दर्भमा बैठकमा उपस्थित भई स्पष्ट गर्ने मौका प्रदान गर्नहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।
हार्दिक अभिवादन सहित ।
Facebook Comment
Comment