बुटवल । रुपन्देहीको तिलोत्तमा-३ मा रहेको डिङ्गनगर दुरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरूको करोडौं रकम अपचलन भएपछि समस्या गहिरिएको छ। रकम अपचलन भएको सार्वजनिक भएलगत्तै सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहीन भएका छन्।
सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरू अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुली सम्पर्कविहीन भएपछि तिलोत्तमामा रहेको उक्त सहकारीका बचतकर्ताहरूले प्रहरी र वडा कार्यालयको रोहबरमा तालावन्दी गरेका छन्। सहकारीको कार्यालयमा तालाबन्दी गर्दा उपाध्यक्षसहित कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि सहभागी भएका थिए। संस्थामा करिब २२ देखि २५ करोड रुपैयाँ अपचलन भएको आशंका गरिएको छ।
कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यका अनुसार, सोमबार संस्थामा भएको अनियमितताबारे छानबिन गर्न छानबिन समिति बनाउने र त्यसलाई सहयोग गर्न स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो। तर, मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिँडेपछि माहोल बिग्रिएको थियो। “माइन्युट च्यातेर अध्यक्ष, सचिव र व्यवस्थापक हिँडेपछि बाँकी रहेका पदाधिकारीले सहकारीमा तालाबन्दी गर्ने निर्णय गरेको हो,” उनले भने।
कागजात जग्गा धितो राखेर अपचलन भएको रकम मिलाउने गरी माइन्युट गरिएकोमा उक्त माइन्युट च्यातेर फरार भएपछि अन्य पदाधिकारी तथा सदस्यहरूले संस्थामा थप आर्थिक हिनामिना रोक्न भन्दै मंगलबार तालाबन्दीको निर्णय गरेका थिए।
उनीहरूले सहकारीमा सुरक्षाको माग गर्दै प्रहरी कार्यालय ड्राइभरटोलमा निवेदन दिएपछि तिलोत्तमाको ड्राइभरटोलको प्रहरी टोली सहकारीमा गई मुचुल्का गरेको थियो। अनुसन्धानका क्रममा ५ लाख रुपैयाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको पाइएको छ भने १२-१३ लाख बराबरको धितोमा ९५ लाख रुपैयाँ ऋण प्रवाह गरेको समेत देखिएको छ। त्यस्तै, शेयर सदस्य नै नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौं रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ।
२०५० सालमा स्थापना भएको उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपैयाँ रहेको छ। करिब १९ सयको हाराहारीमा शेयर सदस्य रहेका छन्, जसमध्ये ११ सय ऋणी र ९ सय बचतकर्ता छन्।
तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीबाट २२ देखि २५ करोड रुपैयाँ बचत अपचलन भएको देखिएको बताए। अध्यक्ष, सचिव र व्यवस्थापक भागेपछि बाँकी सञ्चालक समिति र वडा कार्यालयकै रोहबरमा थप हिनामिना हुन नदिन संस्था शिल गरिएको उनले जानकारी दिए।
Facebook Comment
Comment