गोल मेसिन साम्बाको ह्याट्रिक, श्रीलंकाको पोस्टमा नेपालको ८ गोल

नेपालभ्युज

गोल मेसिन साम्बाको ह्याट्रिक, श्रीलंकाको पोस्टमा नेपालको ८ गोल

काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लगातार दोस्रो ह्याट्रिक गरेको खेलमा नेपाल श्रीलंकाविरुद्ध विजयी भएको छ । श्रीलंकामाथि ८–० गोलअन्तरको फराकिलो जित निकाल्ने क्रममा साम्बाले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् । एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा बुधबार नेपालले श्रीलंकालाई पारजित गरी महत्वपूर्ण तीन अंक जोडेको हो । यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि पनि ९–० को फराकिलो अन्तरको जित हात पारेको थियो । सो खेलमा सावित्राले चार गोल गरेकी थिइन् ।

बुधबार नेपालको जितमा साम्बाले ह्याट्रिकको सफलता प्राप्त गर्दा गीता रानाले २, तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान १ गोल गरे । उज्वेकिस्तानको राजधानी तास्केन्तको बुन्योदकोर स्टेडियममा भएको खेलको १२ औं मिनेटमा नेपालले गोलको खाता खोल्यो । अनिता बस्नेतको कर्नरमा गीता रानाको हेडरले सही दिशा लियो । नेपालले खेलको २० औं मिनेटमा अग्रता दुगुना गरेको थियो । समिक्षा घिमिरेको क्रसमा श्रीलंकाकी गोलकिपर साकुरा सेबान्डीले पन्च गरेको बल अनिताले साम्बालाई दिइन्। साम्बाले बक्स भित्रबाट गोल गरिन् ।

२६ औं मिनेटमा प्रीति राईको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोल किपरले साकुरा सेबान्डीले बचाइन् । यसपछि खेलको ३१ औं मिनेटमा साविता राना मगरको क्रस बारमा लागेर फर्कियो ।

खेलको ३६ औं मिनेटमा कप्तान साम्बाले फ्रि–किकमा सिधै गरेको गोलले मान्यता पाएन । तर, उनले ४२ औं मिनेटमा सुन्दर गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । सविताको क्रसमा साम्बाको हेडरले सही दिशा लियो । ६० औँ अन्तर्राष्ट्रिय खेलमा साम्बाको यो ६४ औँ अन्तर्राष्ट्रिय गोल हो । साम्बा उत्कृष्ट लयमा देखिएकी छिन् ।

खेलको ५३ औं मिनेटमा श्रीलंकाकी सचिना डि सिल्भाले नेपालकी रश्मिलाई बक्सभित्र लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिइन् । गीताले पेनाल्टीमा गोल गरिन् । खेलमा त्यो व्यक्तिगत दोस्रो गोल थियो । खेलको ६२ औं मिनेटमा नेपालले श्रीलंकाविरूद्ध आधा दर्जन गोल पूरा गरेको थियो । अनिताको कर्नरमा निशा थोकरको हेडर गोल पाेस्टमा छिर्‍यो । निशाको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

लगातरको दोस्रो जितमा नेपालले ६ अंक बनाएको छ । अब नेपालले शनिवार समूहको अन्तिम तथा निर्णायक खेल घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।

सन् २०२६ मा अस्ट्रेलियामा हुने एसियन कपको लागि ३४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । अन्तिम चारमा १२ टोली सहभागी हुनेछन् । प्रत्येक समूहको विजेता छनोट हुनेछन् । आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved