काठमाडौं । काठमाडौं उपत्यकाको पानी बग्ने एक मात्र प्राकृतिक निकास हो चोभार गल्छी । उपत्यकाका सबै नदी–खोलाहरू यही गल्छी हुँदै दक्षिणतर्फ बग्छन् । जनश्रुतिअनुसार, कुनै समय उपत्यका ठूलो ताल थियो, जसलाई मञ्जुश्रीले चोभार डाँडा काटेर पानी निकासको बाटो बनाइदिएको मानिन्छ । त्यसपछि मात्र काठमाडौंमा मानवीय बसोबास सम्भव भएको मानिन्छ ।
तर, पछिल्ला दिनमा चोभार गल्छी ‘काटेर ठूलो बनाउने’ प्रयास भइरहेको भन्दै विभिन्न क्षेत्रमा विरोध सुरु भएको छ । यद्यपि, सम्बन्धित निकायहरूले यस्तो निर्णय नभएको स्पष्ट पारेका छन् । चोभार गल्छी काटेर ठूलो बनाउने निर्णय नभएको प्रष्ट्याएकाछन् । चोभारको गल्छीसम्बन्धी निर्णय गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्राधिकरणमा गल्छीको अवरोध हटाउन प्रस्ताव लग्ने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले चोभार गल्छी काटेर ठूलो बनाउन नखोजिएको बताएका छन् ।
के हो विवादको जरो ?
१४ जेठमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चोभार गल्छीमा अवरोध हटाउने निर्णय गर्यो । गत वर्ष असोज १०–१३ सम्म परेको लगातारको वर्षाले बागमती नदीमा पानीको सतह बढेर काठमाडौंका नख्खु, कुलेश्वर, बल्खु, थापाथली लगायतका क्षेत्रहरू डुबानमा परेका थिए । गत वर्षको बाढी र डुबान देखाउँदै प्राधिकरणले १४ जेठमा ‘ पुनः उक्त प्रकारको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ भन्ने निर्णय गर्यो । यही निर्णयलाई आधार मानेर गल्छी नै काट्न लागिएको हो भन्ने आशंका बढेको हो ।
तर, प्राधिकरणका प्रवक्ता सुरेश सुनार भन्छन्, ‘गल्छी काट्ने कि नकट्ने भन्ने निर्णय गरिएको छैन । हामीले सार्वजनिक गरेको निर्णयमा त्यस्तो कुरा छैन ।’
गल्छीको अवरोध हटाउन प्राधिकरणमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रस्ताव गरेको थियो । विकास समितिका उप–निर्देशक उद्धव नेपालका अनुसार, गल्छी होइन, त्यसभन्दा करिब २० मिटर उत्तरतर्फ पहिरोले बागमतीमा खसेका ढुंगाहरू हटाउने निर्णय मात्र भएको हो ।
नेपालले भने, ‘ललितपुर महानगरपालिका वडा नं. १८ र कीर्तिपुर नगरपालिका वडा नं. ६ को सिमानामा पहिरो गएर बागमतीमा माटो र ढुंगा थुप्रिएको छ । वर्षामा रुखका ठुटा, प्लास्टिक आदि अड्किएर पानी जमेर डुबान हुने खतरा भएको भन्दै ललतिपुर महानगरको १८ नम्बर वडाबाट अनुरोध आएपछि त्यस्ता अवरोध हटाउन हामीले प्राधिकरणलाई अनुरोध गरेका हौं ।’
वडाध्यक्षहरू पनि गल्छी नभई पहिरो हटाउन मात्रै अनुरोध गरिएको बताउँछन् । कीर्तिपुर वडा नं. ६ का अध्यक्ष खिरमानसिंह बस्नेत र ललितपुर वडा नं. १८ का अध्यक्ष दामोदर खड्काले चोभार गल्छी नछुने गरी पहिरो हटाउन मात्र आग्रह गरिएको स्पष्ट पारेका छन् ।

पहिरो हटाउने भनिएको स्थान ललतिपुर महानगरको वडा नम्बर १८ र कीर्तिपुर नगरपालिकाको ६ नम्बर वडाको सिमानामा पर्छ । यही कारण समितिले कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ सँग पनि छलफल गरेको नेपालले बताए ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष खिरमानसिंह बस्नेत पृथ्वीले पनि समितिले आपूहरूसँग बागमतीमा खसेको पहिरो, माटो पन्छाउन सहमति मागेको बताए । उनले नेपालभ्युजसँग भने, ‘त्यहाँ पहिरो गा’को छ । ढुंगा खसेका छन् ति हटाउनुपर्यो भनेपछि हामीले पनि हुन्छ भनेका हौँ ।’
ललितपुर महानगर वडा नम्बर १८ को अनुरोधपछि समितिको टोली नै पहिरो गएको स्थानमा पुगेको नेपालले बताए । उनले भने, ‘त्यो पहिरो गएको ठाउँमा हामी पुग्यौं । पहिरोले थुप्रिएको माटो र ढुगांका कारण बर्खामा रुखका ठुटा, पतिगंर र फोहोर आएर पानीको बाटो अरोध हुने देखिएपछि हामीले प्राधिकरणलाई यो हटाउन अनुरोध गरेका हौँ ।’
समितिले गल्छी काट्ने, विस्तार गर्ने योजना नबनाएको उनले दाबी गरे । नेपाल भन्छन्, ‘समितिको गठन नै बागमती सभ्यता जगेर्ना गर्न भएको हो । त्यसकारण समितिले नै बागमती सभ्यताको पहिचान चोभार गल्छी काट्ने योजना बनाउनै सक्दैन ।’
ललतिपुर महागरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का आफूहरूले पहिरो र त्यसले थुपारेका ढुगां पन्छाउन मात्र अनुरोध गरेको बताउँछन् । उनले भने, ‘गत वर्षको पानीले पहिरो गयो, बागमतीमा ढुंगा पनि खसेका छन् । नदीको दायाँ बायाँ नकाटिकन त्यो पहिरो र त्यसले खसालेका ढुगां हटाउनुपर्छ । नभए बर्खामा पानी थुनिएर डुबान हुँन्छ भनेर हामीले अनुरोध गरेका हौँ ।’
काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगका इन्जिनियर सुरज खनालका अनुसार, गल्छी साँघुरो भए पनि त्यसलाई फराकिलो पारेर मात्रै उपत्यकाको बाढी समस्याको दीर्घकालीन समाधान सम्भव छैन ।
सडक जामको समस्याको उदाहरण दिँदै उनी भन्छन्, ‘सडक जामको समाधान सडक विस्तार होइन, सार्वजनिक सवारीको सुधार हो । त्यसैगरी, उपत्यकामा डुबान र बाढीको समाधान चोभार गल्छी विस्तार मात्र होइन, नदीको बहाव मिच्ने काम बन्द गर्नुपर्छ र जमिनले पानी सोस्ने प्रणाली बनाउनुपर्छ ।’
गल्छी काटेर चौडा बनाउँदा खोकना, जलविनायक र सुख्खा बन्दरगाह जस्ता तल्ला क्षेत्रमा बाढीको जोखिम पनि बढ्न सक्ने चिन्ता व्यक्त गर्छन् खनाल ।
Facebook Comment
Comment