काठमाडौं । एमालेमा फर्किएकी विद्या भण्डारीले पूर्वराष्ट्रपतिका हैसियतमा सरकारले दिने सेवासुविधा फिर्ता गर्न भन्दै गृह मन्त्रालयमा निवेदन दिएकी छिन् ।
उनले आजैका मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्न गृहमा निवेदन दिएको उनका सचिवालयका एक जनाले जानकारी दिए । उनका अनुसार सरकारले दिएको सचिवालय सुविधालगायतका सुविधा फिर्ता गर्न निवेदन दिएकी हुन् । घरभाडा र गाडी भने उनले यसअघि पनि नलिएको सचिवालयले जनाएको छ । सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले पनि भण्डारीको निवेदन आएको पुष्टि गरे । सुरक्षा बाहेकका सुविधा आजैका मितिदेखि लागू हुने गरी फिर्ता गर्न निवेदन आएको बताए ।
भण्डारीले यही १४ असारमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममार्फत आफूले एमाले संगठित सदस्यता नवीकरण गरेको जानकारी दिएकी थिइन् । साथै उनले अब आफू एमाले परिवारको सदस्य भएको बताएकी थिइन् ।
भण्डारीले एमालेको आगामी महाधिवेशनबाट अध्यक्ष हुने तयारीका साथ आफ्ना गतिविधि बढाइरहेकी छिन् ।
Facebook Comment
Comment