काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ को अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यस्तो सजाय सुनाएको हो । देश छाडेपछि हसिनामाथि सुनाइएको यो पहिलो सजाय हो ।
ढाका ट्रिब्युनकाअनुसार सोही मुद्दामा गोबिन्दगञ्ज, गाइबन्धाका शाकिल आकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ ।
हसिना करिब एक वर्षअघि बंगलादेश छाडेर भारत पुगेकी थिइन् । सन् २०२४ को जुन महिनामा हसिनाविरुद्ध मानवता विरोधी अपराधमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको थियो ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामका अनुसार गत वर्षको सरकारविरुद्धको जनप्रदर्शनमा हसिनाले “व्यवस्थित आक्रमण” गराएको आरोप छ ।
गत वर्ष व्यापक आन्दोलनपछि आवामी लिग सरकार ढलेको थियो र त्यसपछि अगस्ट २०२४ मा शेख हसिना भारत पुगेकी थिइन् । हाल उनी नयाँ दिल्लीस्थित सुरक्षित घरमा बसेकी छिन् ।
Facebook Comment
Comment