काठमाडौं । नेकपा माओवादी केन्द्रले कुलिङ अफ पिरियडमा विश्वासघात भएको बताएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धीको सहमति सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएकोमा सिंगो संसद्माथि प्रश्न उठेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
पत्रकार सम्मलेन गर्दै उनले भने, “सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधी प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरु उठेका छन् । यस जालसाँजीपूर्ण घटनाले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।”
विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस नभएको सापकोटा बताउँछन् ।
उनले भने, “यसको जिम्मा नैतिक रुपमा संसद्को नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।”
प्रतिनिधिसभामा पेस भएको प्रतिवेदनमा भने समितिले उक्त कुलिङ अफ पिरियड रहेको दफा ८२ लाई निष्प्रभावी पार्नेगरी अर्को व्यवस्था गरेको खुलेको छ । विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ ।
तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२, (५), (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’को व्यवस्थालाई निष्प्रभावी बनाइएको हो ।
सम्बन्धित सामग्री –
‘कुलिङ अफ पिरियड’को विषय अब राष्ट्रियसभाको जिम्मामा
Facebook Comment
Comment