काठमाडौं । तिब्बती बौद्ध आध्यात्मिक नेता दलाई लामाले बुधबार आफ्नो भिडिओ सन्देशमा भने, “आध्यात्मिक नेता छनोट गर्ने परम्परा मेरझ मृत्यु पछि पनि जारी रहनेछ ।”
बौद्ध धर्मका तिब्बती आध्यात्मिक नेताले उत्तराधिकारी छनोट गर्ने परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भनेका यो पहिलो पटक हो ।
लामाले आफ्नो पुनर्जन्म पत्ता लगाउने र पहिचान गर्ने प्रक्रिया पूर्णतया गादेन फोड्राङ फाउन्डेसनअन्तर्गत हुने र “यस विषयमा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन” भन्ने पनि बताए ।
दलाई लामालाई तिब्बतका संरक्षक संत अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ ।
मार्चमा प्रकाशित आफ्नो पुस्तक “भ्वाइस फर द भ्वाइसलेस”मा दलाई लामाले उत्तराधिकारी चीन बाहिर जन्मिने सम्भावना पनि रहेको बताएका छन् ।
दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म हुन्छ र धार्मिक नेताले त्यो बच्चा खोज्छन् भन्ने विश्वास गरिन्छ ।
यता, केन्द्रीय तिब्बती प्रशासनका नेता पेन्पा छिरिङले चीनले लामाको उत्तराधिकारीको मुद्दालाई राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
बुधबार हिमाचल प्रदेशको धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा पेन्पा शेरिङले यो आरोप लगाएका हुन् ।
तिब्बतको बौद्ध धार्मिक नेता छनोट गर्ने एउटा विशिष्ट प्रक्रिया रहेको र भविष्यमा पनि यसलाई पालना गरिने उनले बताए । उनले भने, “हामी यस मुद्दालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने चीनको प्रयासको निन्दा गर्छौं र हामी यसलाई कहिल्यै स्वीकार गर्ने छैनौं ।”
चिनियाँ अधिकारीहरूसँगको कुनै सम्पर्कको बारेमा सोध्दा उनले भने, “यस समयमा यदि तपाईंले चिनियाँ सरकारले तिब्बतमा लागू गरेका नीति र कार्यक्रमहरू हेर्नुभयो भने ती सबै तिब्बती जनताको पहिचानलाई नष्ट गर्ने उद्देश्यले छन् । सी जिनफिङको सरकारले तिब्बती भाषा र तिब्बती धर्मलाई लक्षित गरिरहेको छ, जुन तिब्बती पहिचानको आधार हो ।”
Facebook Comment
Comment