काठमाडौं । चीनको राजधानी बेइजिङमा शनिबार राति सम्पन्न एक अनौठो फुटबल प्रतियोगितामा पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीद्वारा सञ्चालित हुमानोइड रोबोट टोलीहरूले प्रतिस्पर्धा गर्दै दर्शकहरूको ध्यान तानेका छन् ।
यस प्रतियोगितालाई चीनमा पहिलो पटक आयोजित पूर्ण स्वायत्त हुमानोइड रोबोट फुटबल खेलको रूपमा हेरिएको छ । सो प्रतियोगिता आगामी “विश्व हुमानोइड रोबोट गेम्स”को पूर्वतयारीका रूपमा पनि प्रस्तुत गरिएको हो, जुन चाँडै बेइजिङमै आयोजना हुँदैछ ।
प्रतियोगितामा चीनका विभिन्न विश्वविद्यालयका चार टोलीबीच तीन-तीन खेलाडीको फुटबल खेल भएको थियो । सबै रोबोटले बिना कुनै मानव निर्देशन एआईद्वारा बनाइएका रणनीतिअनुसार स्वतन्त्र रूपमा निर्णय लिँदै खेल खेलेका थिए ।
अत्याधुनिक भिजुअल सेन्सरले युक्त रोबोटहरूले बल चिन्ने, मैदानमा गतिको सन्तुलन मिलाउने र आफैं उठ्ने जस्ता कार्यसम्पादन देखाए पनि केही रोबोट भने लडेर उठ्न नसक्दा मानव स्टाफद्वारा स्ट्रेचरमा बोकिन पुगे, जसले खेललाई झनै यथार्थपरक बनाएको थियो ।

टीसिङह्वा विश्वविद्यालयको जीत
फाइनल खेलमा टीसिङह्वा विश्वविद्यालयको टीएचयू रोबोटिक्स टोलीले चाइना एग्रिकल्चरल युनिभर्सिटीको “Mountain Sea” टोलीलाई ५–३ को गोलले पराजित गर्दै उपाधि जित्यो ।
टीसिङह्वा समर्थक वुले भने, “उनीहरूले साँच्चै उत्कृष्ट खेले । तर, ‘Mountain Sea’ टोलीले पनि खेललाई रोचक बनायो ।”
बूस्टर रोबोटिक्सका संस्थापक तथा सीईओ छेङ हाओका अनुसार यस्ता प्रतिस्पर्धाले हुमानोइड रोबोटहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
“भविष्यमा मानव र रोबोटबीच पनि फुटबल खेल सम्भव हुन सक्छ,” उनले भने, “तर, त्यो सम्भावनालाई सुरक्षित र भरपर्दो बनाउने जिम्मेवारी हाम्रो हो ।”
बूस्टर रोबोटिक्सले सबै टोलीलाई हार्डवेयर उपलब्ध गराएपनि प्रत्येक विश्वविद्यालयले आफ्नै अनुसन्धान टोलीमार्फत रोबोटमा छुट्टाछुट्टै एल्गोरिदम निर्माण गरी जडान गरेका थिए, जसमा गति, दिशा, पास, फर्मेशन जस्ता रणनीतिहरू सामेल थिए ।
सन् २०२६ को विश्वकप (क्यानडा, अमेरिका र मेक्सिको) का लागि चीनको पुरुष फुटबल टोली पहिल्यै छनोटबाट बाहिरिसकेको छ । यति बेला रोबोट फुटबलले चिनियाँ खेलप्रेमीहरूमा नयाँ उत्साह जगाएको देखिएको छ ।
Facebook Comment
Comment