काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग आगामी हप्ताको समयसीमाभित्र व्यापार सम्झौता नभएमा ३० देखी ३५ प्रतिशतसम्मको शुल्क लगाउने चेतावनी दिएका छन्। यो शुल्क ‘लिबरेसन डे’ अन्तर्गत जापानमाथि लगाइएको २४ प्रतिशत महसुलभन्दा निकै बढी हो।
शुरुमा धेरैजसो व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको महसुल लगाइएको थियो, जसलाई ९० दिनका लागि निलम्बन गरिएको थियो ताकि वासिङ्टनसँग वार्ता गर्ने समय मिलोस्। उक्त समयसीमा आगामी जुलाई ९ मा समाप्त हुँदैछ र ट्रम्पले यसलाई नबढाउने बताएका छन्।
ट्रम्पले जापानसँग सम्झौता हुनेमा पनि शंका व्यक्त गरेका छन्। मङ्गलबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामीले जापानसँग व्यवहार गरेका छौं। मलाई लाग्दैन कि हामी सम्झौता गर्न सक्छौं। मलाई शंका छ।”
हाल जापानका अधिकांश अमेरिकी निर्यातमा १० प्रतिशत शुल्क लाग्ने गरेको छ। यसका अतिरिक्त जापानी सवारी साधन र पार्टपुर्जाहरूमा २५ प्रतिशत आयात कर र स्टिल तथा आल्मुनियममा ५० प्रतिशत शुल्क लाग्ने गरेको छ।
मङ्गलबार जापानका प्रमुख मन्त्रिपरिषद् सचिव योशिमासा हायाशीले वासिङ्टनसँग सम्झौता गर्नका लागि आफ्नो देशका किसानहरूलाई हानि पुग्ने गरी कुनै पनि सहुलियत नदिने बताएका थिए। यी टिप्पणीहरू ट्रम्पले विभिन्न देशका व्यापार नीतिहरूको आलोचना गर्दै विशेष गरी जापानी चामल आयातमाथि ध्यान केन्द्रित गरेपछि आएका हुन्।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा जापानले अमेरिकासँगको व्यापारमा अनावश्यक फाइदा उठाइरहेको आरोप लगाएका छन्। उनले भने,”जापानले अमेरिकाको चामल आयात गर्न अस्वीकार गरिरहेको छ, जबकि उनीहरू आफैँ चामलको ठूलो अभावसँग जुधिरहेका छन्। यसले अन्य देशहरूले अमेरिकासँगको व्यापारमा कसरी अनुचित लाभ लिइरहेका छन् भन्ने देखाउँछ।”
ट्रम्पले सुरुमा नयाँ शुल्कमा ९० दिने विरामको अवधिमा ९० वटा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने बताएका थिए। तर, त्यसयता अमेरिकाले बेलायतसँग मात्र एउटा सम्झौता गरेको छ। बीबीसी
Facebook Comment
Comment