काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ ।
बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो ।
‘मच बेटर एड्भेन्चर’को सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ । यसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ ।
पर्यटन बोर्डले एकल यात्रुको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ ।
बोर्डले प्रवद्र्धन गर्दै आएको उत्तरदायी पर्यटन नीतिअन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्याङ्कन गरिएको छ । जसमा भनिएको छ, “नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ ।”
मच बेटर एड्भेन्चर्सका सहसंस्थापक श्याम ब्रुसका अनुसार यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । यसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन् ।
Facebook Comment
Comment