अमेरिकामा हंगामा ल्याउने क्यानेडाको डिजिटल कर (भिडिओ)
क्यानेडला डिजिटल कर ऐन कार्यान्वयनमा ल्याएको भन्दै २१ जना सांसदले क्यानेडाको उक्त ऐन कार्यान्वयनमा रोक लगाउने दबाब दिन ट्रम्पलाई पत्राचार गरेका थिए ।
नेपालभ्युज
काठमाडौं । सन् २०१९ मा तत्कालीन क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्मा डिजिटल करको प्रस्ताव लगेका थिए । क्यानेडियन संसद्ले डिजिटल करको प्रस्ताव सन् २०२४ मा पारित गरेको थियो । यस कानुनअनुसार क्यानेडाले पहिलोपटक जुन ३० मा भुक्तानी लिँदैछ ।
क्यानेडाको डिजिटल करले अमेरिकामा हंगामा भएको छ । क्यानेडाले डिजिटल कर कार्यान्वयनमा ल्याएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडासँगको व्यापार वार्ता स्थगित गरेका छन् । के हो त क्यानेडाको डिजिटल कर, यसले अमेरिकालाई पारेको प्रभाव, युरोपेली युनियनको दृष्टिकोण र अमेरिकी कदमप्रति क्यानेडाको प्रतिक्रियाबारे यो एपिसोड केन्द्रित छ ।
के हो क्यानेडाको डिजिटल कर ?
क्यानेडाले गत वर्ष जुनमा क्यानेडा डिजिटल सेवा कर ऐन (DSTA) संसद्बाट पारित गरेको थियो । यस ऐनले डिजिटल माध्यमले क्यानेडियन प्रयोगकर्ताबाट आर्जन गरेको रकममा लेभी तोकेको छ ।
क्यानेडामै रहेका नागरिक वा मुलुकबाहिर रहेका क्यानेडियन प्रयोगकर्तामार्फत आर्जन गरेको रकममा डिजिटल प्लेटफर्महरूले क्यानेडा सरकारलाई लेभी बुझाउनुपर्ने यस ऐनको व्यवस्था छ । यस ऐनले नाफामा नभएर क्यानेडियनबाट संकलित रकममा डिजिटल प्लेटफर्मलाई लेभी तोकेको छ ।
८२० मिलियन डलरभन्दा बढी विश्वव्यापी व्यापार गर्ने प्रविधिक कम्पनी र क्यानेडाबाट १४.७ मिलियन डलर आर्जन गर्नेहरूले क्यानेडा सरकारलाई ३ प्रतिशत लेभी बुझाउनुपर्नेछ । यस्तो लेभी बुझाउनेहरूमा सामाजिक सञ्जाल, डिजिटल विज्ञापन कम्पनी, अनलाइन मार्केटप्लेस पर्दछन् ।
यो ऐन २०२४ मा जारी भए पनि क्यानेडाले सन् २०२२ यतादेखि लेभी तोकेको छ । यसपछि अमेरिका निकै चिढिएको छ । क्यानेडाको डिजिटल करका कारण अमेरिकी राष्ट्रपति ट्रम्प चिढिएका छन् । उनले क्यानेडासँग व्यापार वार्ता नै स्थगित गरेका छन् । यो तहसम्म ट्रम्प पुग्नुको कारण के हो त ?
क्यानेडला डिजिटल कर ऐन कार्यान्वयनमा ल्याएको भन्दै २१ जना सांसदले क्यानेडाको उक्त ऐन कार्यान्वयनमा रोक लगाउने दबाब दिन ट्रम्पलाई पत्राचार गरेका थिए ।
सन् २०२४ मा ऐन पारित गरेर २०२२ देखिको कर असुल्ने क्यानेडाको नीतिले गलत नजिर स्थापित गर्ने र यसले विश्व कर र व्यापार प्रणालीमा नकारात्मक असर पार्ने भएकाले कुनै हालतमा क्यानेडालाई रोक्नुपर्ने ती सांसदहरूको धारणा थियो ।
यस ऐनअन्तर्गत अमेरिकी कम्पनी अमेजन, गुगल, उबर, मेटालगायतले क्यानेडलाई २ अर्ब डलरभन्दा बढी कर तिर्नुपर्नेछ । आफ्ना प्रविधि कम्पनीबाट उक्त कर असुल्ने क्यानेडाको नीतिलाई ट्रम्पले अमेरिकामाथिको हमला भनेका छन् ।
क्यानेडा पछि नहटे आफूले पनि सात दिनभित्र क्यानेडामाथि नयाँ कर नीति ल्याउने उनको घोषणा छ । क्यानेडालाई तह लगाउनका निम्ति आफूहरुसँग विभिन्न विकल्प रहेको तर त्यसको प्रयोग नगर्ने ट्रम्पको भनाइ छ । क्यानेडाले अमेरिकासँग नै मुख्य व्यापार गर्ने भएकाले उसले अमेरिकासँग राम्रो व्यवहार गर्नुपर्ने ट्रम्पको भनाइ छ ।
क्यानेडाले कुल व्यापारको ८० प्रतिशत अमेरिकासँग गर्छ । सन् २०२४ मा द्वीपक्षीय व्यापार ७६२ अर्ब डलरको थियो । क्यानेडाले ४१२.७ अर्ब डलर निर्यात गरेको थियो भने ३४७.४ अर्ब डलर आयात गरेको थियो ।
अमेरिकी चेतावनीप्रति प्रतिक्रिया दिँदै क्यानेडाली प्रधानमन्त्री मार्क कार्नीले क्यानेडाको राष्ट्रिय हित जसरी पनि सुरक्षित गर्ने बताएका छन् । अमेरिकाबाट मात्रै होइन स्थानीय व्यापारीहरूले पनि प्रधानमन्त्री कार्नीलाई डिजिटल कर रोक्न ध्यानाकर्षण गराइरहेका छन् ।
यो ऐनले अमेरिकालाई चिढ्याउने र आफूहरूको लागत बढ्ने सुझाव उनीहरूले प्रधानमन्त्रीलाई दिएका थिए । क्यानेडाको व्यापारिक परिषद्ले पनि एकतर्फी रूपमा डिजिटल कर अघि बढाउँदा यसले मुख्य व्यापारिक साझेदार अमेरिकालाई चिढ्याउने चेतावनी सरकारलाई दिएको थियो । अमेरिकासँग व्यापार वार्ता सन्निकट रहेको अवस्थामा DST लाई हटाउनुपर्ने परिषद्को सुझाव थियो ।
कुन- कुन मुलुकमा छ DST ?
धेरै मुलुकहरूमा डिजिटल कर रहेको छ । सन् २०१९ मा फ्रान्सले पहिलोपटक DST लागू गरेको थियो । यसप्रति पनि ट्रम्पले आक्रोश व्यक्त गरेका थिए । क्यानेडाको हालको नीतिझै फ्रान्सले पनि डिजिटल प्लेटफर्मबाट ३ प्रतिशत लेभी असुल गर्थ्यो ।
बेलायतले सामाजिक सञ्जाल र सर्च इन्जिनबाट २ प्रतिशत लेभी उठाउँदै आएको थियो । अष्ट्रियाले पनि ३ देखि ५ प्रतिशतसम्म तोकेको थियो । टर्कीले ७ प्रतिशत असुल्दै आएको छ । अफ्रिकी मुलुक केन्याले २ प्रतिशत असुल्दै आएको छ । भारतले पनि २ प्रतिशत रकम लिँदै आएको छ ।
यस्ता करमा अमेरिकी सरकारले आपत्ति जनाउँदै आएको छ । आर्थिक साझेदार र विकासबारे ३८ मुलुक सम्मिलत संस्था OECD ले डिजिटल कम्पीनहरूलाई न्यायोचित कर तोक्न काम गरिरहेको छ । क्यानेडाले पनि आफ्नो कर नीतिबारे OECD मा छलफल गर्न चाहेको थियो । यो छलफल रोकिएपछि क्यानेडाले ३ प्रतिशत कर तोकेको हो ।
युरोपेली युनियनले पनि डिजिट करबारे OECD मा छलफल गर्नुपर्ने बताएको छ । अध्यक्ष उर्सुला भोन डर लायनले अमेरिकी पक्षपातपूर्ण कर नीति र अन्य मुलुकले लगाउन खोजेको डिजिटल नीतिबारे खुला छलफल हुनुपर्ने बताएकी छिन् ।
अमेरिकी कर नीतिबारे अमेरिका र युरोपेली युनियनबीच पनि विवाद छ । युरोपेली युनियन र अमेरिकाबीच जुलाइ ९ मा वार्ता तय छ । ट्रम्पले युरोपेली युनियनमाथि लगाएको कर स्थगनको ९० दिनको सीमा समाप्त हुन लागेको छ ।
ट्रम्पले युरोपेली युनियनमाथि ५० प्रतिशत कर थोपर्ने चेतावनी दिएका छन्। त्यसको प्रतिवादमा युरोपेली युनियनले पनि अमेरिकी कृषि उत्पादनदेखि बोइङसम्म कर बढाउँदै ११.१ ४ अर्ब डलर बराबरको कर लगाएको थियो । युरोपेली युनियनका नेताहरूले करबारे छलफल गर्न तयार रहेको बताएका छन् ।
यता क्यानेडाले डिजिटल कर मुलुकको हितमा रहेकाले आफ्नो राष्ट्रिय हितको सुरक्षा जसरी पनि गर्ने बताएको छ । आफ्ना कम्पनीले क्यानेडामाथि भारी कर तिर्नुपर्ने भएपछि अमेरिकाले चिढिँदै सात दिनभित्र क्यानेडामाथि नयाँ कर लागू गर्ने घोषणा गरेको छ ।
दोस्रो कार्यकाल सम्हालेसँगै क्यानेडालाई ५१ औँ प्राप्तका रूपमा अमेरिकामा ट्रम्पको गाभ्ने घोषणापछि दुई मुलुकबीचको सम्बन्ध यसै पनि सौहार्द छैन ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा शिशिर ढकालले तयार पारेको सामग्री)
Facebook Comment
Comment