काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गरेका हुन्।
कोभिडविरुद्धको खोपबारे मन्त्री खतिवडाले झुठो अभिव्यक्ति दिएको भट्टराईको आरोप छ। यसअघि केपी ओली प्रधानमन्त्री छँदा आफुले ५ हजारमा किनेर खोप लगाउनुपरेको अभिव्यक्ती खतिवडाले दिएका थिए। मन्त्री खतिवडाको उक्त अभिव्यक्ति अफवाहपूर्ण रहेको भट्टराईले बताएका छन्।
”सिभिल अस्पताल बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन ०७७ मा लगाएको अभिलेख सुरक्षित छ, तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षर समेत गर्नुभएको छ, उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले ब्याच नम्बर ”४१२० जेट् ००४” को कोभिशिल्ड खोप लगाएको स्पष्ट छ,सांसदहरूका लागि सरकारले दोस्रो डोज संसद् भवन बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ,’’ भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि सो अभिव्यक्ति दिएको एमालेको ठहर छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको उल्लेख गर्दै खतिवडालाई पदबाट बर्खास्त गर्न एमालेले माग गरेको छ। ”आमजनता कोभिडबाट आक्रान्त भइरहेको बेला मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भर्त्सना गर्दछौँ, यति झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ,आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ ,” विज्ञप्तिमा उल्लेख छ।


Facebook Comment
Comment