नबिलको ‘सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा, ‘नबिल ग्रीन विक’ मनाइँदै

नेपालभ्युज

नबिलको ‘सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा, ‘नबिल ग्रीन विक’ मनाइँदै

काठमाडौं। नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ कार्यक्रम पाँचौँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले चौथो वार्षिकोत्सव मनाउन असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना गर्दैछ। यो साताव्यापी कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा दिगोपनासम्बन्धी विषयमा केन्द्रित रहेर छलफल गरिने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

‘नबिल ग्रीन विक’ अन्तर्गत आयोजना हुने वेबिनार शृङ्खलामा नबिल बैंकका विज्ञहरू, जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिको साथै वातावरण, समाज तथा सुशासन (ESG) सम्बन्धी विज्ञहरू र कृषि क्षेत्रका जानकारहरू सहभागी हुनेछन्।

यस कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारी साधन, दिगो कृषि र ESG मा लगानी जस्ता विषयमा ज्ञान आदानप्रदान गर्ने र सरोकारवालाहरूलाई जोड्ने उद्देश्य राखेको छ।

नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (SDGs) लाई आत्मसात गर्दै आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्तहरूलाई अँगाल्दै आएको छ। दिगोपनलाई बैंकको रणनीतिको मुख्य आधार बनाइएको छ। बैंकले आफूलाई परम्परागत बैंकिङ सेवामा मात्र सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा समेत ध्यान केन्द्रित गरेको छ। यसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानी प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यहरू समावेश छन्। बैंकले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सिर्जनामा काम गर्दै आएको जनाएको छ।

नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ:

पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्‍याएको छ।

२१ जिल्लाका ३७ वटा नदीमा सञ्चालित ३,०७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत् परियोजनामा लगानी गरेको छ।

साना तथा मझौला व्यवसायअन्तर्गत विशेष गरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्‍याएको छ।

गत आर्थिक वर्षसम्ममा कृषि क्षेत्रमा ४५.३८ अर्ब रुपैयाँ, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सूक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरेको छ।

बैंकको कुल कर्जा लगानीको ४२.३६ प्रतिशत विद्युतीय सवारी कर्जामा रहेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ।

हाल बैंकका १३ वटा शाखा तथा भवनमा नवीकरणीय ऊर्जा प्रणाली जडान गरिएको छ।

डिजिटल बैंकिङ प्रवर्द्धनमा सक्रियता देखाउँदै १६ लाख आठ हजार ८२६ जना ‘एनबैंक’ प्रयोगकर्ता पुगेका छन्।

हालसम्म सात हजार ५९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved