काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन यू १६ क्रिकेट प्रतियोगितामा आइतबार नेपाल र इन्डोनेसियाबीच खेल भइरहेको छ । टस हारेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको थियो । जसमा नेपालका दुवै ओपनर प्रसिद्ध जैसी र परिमर्जन यादव चम्किए । राम्रो सुरुवात गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनायो ।
नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतक बनाउने क्रममा ११४ बलमा १३२ रन बनाए । यस्तै अर्का ओपनर यादवले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ७१ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन बनाए भने जोय थापाले ४१ बलमा ५७ रन बनाए । यस्तै सुगम बुढाथोकी ३९ बलमा नटआउट रहे ।
नेपालका लागि पावर प्लेमै १० ओभरमा जैसी र यादवले १३० रन बनाएका थिए । त्यसपछि रौनक र जोय थापाले पनि उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले विशाल योगफल तयार पारेको हो ।
जारी प्रतियोगितामा नेपालले यसअघि सिंगापुर र जापानलाई पराजित गरिसकेको छ ।
Facebook Comment
Comment