पतञ्जली प्रकरण

माधव नेपालको पक्षबाट बहस गर्न १२० जना वकिलले टिपाए नाम

नेपालभ्युज

माधव नेपालको पक्षबाट बहस गर्न १२० जना वकिलले टिपाए नाम

काठमाडौं । पतञ्जलीको जग्गा प्रकरणमा मुद्दा खेपेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार विशेष अदालत काठमाडौंमा उपस्थित भएर बयान दिएका छन् । विशेषका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सकिएको छ । बयान सकिएसँगै अहिले थुनछेक बहसको तयारी भइरहेको छ ।

थुनछेक बहसका लागि नेपालका तर्फबाट गोविन्द बन्दीलगायत १२० जना वकिलहरूले नाम टिपाएका छन् । उनीहरूले वकालतका लागि नाम टिपाए पनि केही कानुन व्यवसायीले मात्र बहस गर्नेछन् । अन्यले बहसमा सहमति जनाउनेछन् ।

नेपालपक्षका कानुन व्यवसायीहरू आजै थुनछेक सक्काउने तरखरमा छन् । आज थुनछेक नसकिए, नेपाललाई अदालतले हिरासतमा पठाउने सम्भावना हुन्छ ।

उता विशेषमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ अधिवक्ता सुशील पन्तलाई ‘हायर’ गरेको छ । उनले अख्तियारका तर्फबाट बहस गर्नेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरिएको छ ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा हदबन्दी छुट जग्गा खरिद गर्न स्वीकृति र बिक्रीको अनुमति पनि दिने निर्णय गरेको थियो । २०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो ।

यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान गरेको थियो ।

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर, त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन । तर, सो जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved