काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल र फ्रेन्डस् क्लबबीचको रोमान्चक खेल बराबरीमै टुंगिएको छ। ३–० ले पछि परेको स्थित उल्ट्याउँदै फ्रेन्डस्ले खेल बराबरी गरेको हो। जावलाखेलबाट लोइक एनजिमीले दुई तथा रुप बहादुर लामाले एक गोल गरेका थिए। फ्रेन्ड्सका नाथानिल जुडे गार्सियाले दुई तथा जमोल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए।
बराबरीपछि जावलाखेल अंकतालिकाको ११ औं र फ्रेन्डस् १२ औं स्थानमा यथावत् छन्। जावलाखेलले ११ खेलबाट १० र फ्रेन्डस्ले समान खेलबाट ७ अंक जोडेको छ। लिगअन्तर्गत नै आजको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन्।
यो बराबरीसँगै बिबिसी ११ खेलबाट ७ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा यथावत रहेको छ। च्यासल ११ खेलबाटै ६ अंक जोडेर पुछारमा यथावत् छ। लिगमा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको १० खेलबाट २६ र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको समान खेलबाट २० अंक छ।
Facebook Comment
Comment