काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ। नेपाली बायाँहाते स्पिनर शुभम खनालको घातक बलिङसामु जापानको टोली मात्र ८० रनमा अलआउट भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको जापानको युवा टोली ३४.३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिन पुग्यो। जापानका कप्तान चार्ली हारा-हिन्जेले सर्वाधिक ३६ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि शुभम खनालले १० ओभर बलिङ गर्दै १५ रन खर्चेर महत्त्वपूर्ण ५ विकेट लिए। उनको यो प्रदर्शन नेपाललाई खेलमा बलियो स्थितिमा पुर्याउन निर्णायक रह्यो। खनालबाहेक, अभय यादवले २ विकेट लिँदा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट हात पारे।
नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। अब, ८१ रनको सामान्य लक्ष्य पछ्याउँदै नेपाल लगातार दोस्रो जितको खोजीमा छ।
Facebook Comment
Comment