काठमाडौं । इरान र इजरायलबीच चर्किएको द्वन्द्वका कारण त्रास बढ्दै गएपछि इरानी नागरिकहरू आफ्नो देश छाडेर शरण खोज्दै छिमेकी राष्ट्र प्रवेश गर्न थालेका छन् ।
इरानको मेघरी सीमा चौकी हुँदै बुधबार इरानका बासिन्दाहरू ठूलो संख्या छिमेकी राष्ट्र अर्मेनियामा प्रवेश गरेको देखिएको छ । हालसम्म के–कति इरानी नागरिक आर्मेनिया प्रवेश गरे भन्नेबारे कुनै आधिकारिक तथ्याङ्क जारी नगरिएको भएपनि दक्षिणी अर्मेनियाली शहर अगारकका प्रत्यक्षदर्शीहरूले केही घण्टाको अवधिमा सयौं मानिसहरू त्यहाँ आइपुगेको बताएका छन् । धेरैले भारी सुटकेस बोकेका छन्, लामो समयसम्म बस्नका लागि उनीहरू तयार देखिन्छन् ।

सीमावर्ती शहर मेघरी इरानबाट भागेर आश्रय खोज्नेहरूले भरिएको बताइएको छ । जसलाई अझै शरणार्थीको मान्यता प्रदान गरिएको छैन । स्थानीय होटलहरू अब पूर्ण क्षमतामा भरिएका छन् । इरानको हवाई क्षेत्र बन्द भएको छ । यसले गर्दा अर्मेनिया इरानीहरूका लागि मात्र नभएर द्वन्द्वबाट भागेर घर जाने बाटो खोज्ने विदेशी नागरिकहरूका लागि पनि एक महत्त्वपूर्ण ट्रान्जिट हब बनेको छ ।

इरानको उत्तरी छिमेकी अजरबैजानमा पनि उल्लेखनीय संख्यामा इरानी नागरिक गएको बताइएको छ । अजरबैजानको राजधानी बाकु र अर्मेनियाको येरेवन दुवैका सरकारी अधिकारीहरूले मंगलबारसम्म इरानमा बसोबास गर्ने ७०० भन्दा बढी विदेशी आफ्नो सीमामा प्रवेश गरेको बताएका छन् ।
गत शुक्रबार बिहान इजरायलले इरानका आणविक उद्योगहरूलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको थियो । इरानले त्यस दिन पछि प्रतीकारात्मक हमलाको जवाफ दियो । जबकि दुई पक्षले त्यसबेलादेखि मिसाइल आक्रमणहरू जारी राखेका छन् । –सीसीटीभी प्लसको सहयोगमा नेपाल न्युज बैंकले तयार पारेको सामग्री
Facebook Comment
Comment