काठमाडौं । कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा आयरल्यान्डसँग नेपाल १७ रनले पराजित भएको छ। १ सय २८ रनको चुनाैती पछ्याएको नेपालले २० ओभरमा ९ विकेट बनाएर केवल १ सय ११ रनमात्रै बनायो । छोटो लक्ष्य पछ्याएको नेपालले कुनै पनि समय खेलमा धैर्यता देखाएन। नेपालका ब्याट्सम्यान ठूला सट खेल्ने क्रममा लगातार आउट भए।
ओपनर आरिफ शेखले २३ र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले २८ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले २० रनभन्दा कममै समेटिए। यससँगै टेस्ट राष्ट्रलाई पहिलोपटक हराउने नेपालको लक्ष्य पूरा हुन सकेन।
यसअघि दीपेन्द्र सिंह ऐरीले चार विकेट लिँदा नेपालले आयरल्यान्डलाई १ सय २७ रनमै समेटेको थियो। दीपेन्द्रले ४ ओभर बलिङ गर्दै केवल २१ रन खर्चिएर ४ विकेट लिएका हुन्। नेपालबाट अविनाश बोहराले दुई, कमल सिंह ऐरी, जीतेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए।
आयरल्यान्डबाट जर्ज डोक्रेलले सर्वाधिक २८ रन जोडेपनि अन्य ब्याट्सम्यानले संझनलायक खेल खेलेनन्।
सन्दीपको किर्तिमान
हारका बाबजुद नेपालका कप्तान सन्दीप लामिछानेले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पूरा गरेका छन्। उनी यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडी हुन्। सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा आएका छन्। उनले २९ खेलमा ५० विकेट लिए।
यो सूचिको पहिलो स्थानमा रहेका श्रीलंकाका अजेन्ता मेन्डिसले २६ खेल तथा दोस्रो स्थानका आयरल्यान्डका मार्क आदिरले २८ खेलमा ५० विकेट लिएका थिए।
Facebook Comment
Comment