रोल्पा। रोल्पाको सदरमुकाम लिबाङबाट प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला पुग्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ। आन्तरिक पर्यटन प्रवर्दन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएको हो।
लिबाङ–जलजला पर्यटन उडानको शनिवार एक कार्यक्रमकाबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गरे। फिस्टेल एयरको नाइन् एन – एजेआर हेलिकप्टरका पाइलट क्याप्टेल सुजल श्रेष्ठ र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरु संगम रोका र उहाँका परिवारलाई रोल्पा नगरपालिकाका मेयर केसी र उपमेयर मनकुमारी घर्तीले फूलमाला लगादिएर पर्यटन उडानको शुभारम्भ गरिएको हो।
हवाई यात्राको पहिलो दिन शनिवार ५ वटा उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेको गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले जानकारी दिए।
पर्यटन प्रवद्र्धनका लागि जलजला पुग्न सडक यात्रा कठिन भएकाले पर्यटकहरुको माग अनुसार हेलिकप्टर उडान सुरु गरेको पुनको भनाई छ। ‘जलजला पुग्ने धेरैको चाहना हुन्छ’ पनुले भन्नुभयो ‘तर सडकको सहज पहुँच नभएको हवाई यात्रा पर्यटकको रोजाईमा परेको हो।’ अहिले हिउँ परेकाले पनि जलजला पुग्न सडकको यात्रा झन कठिन हुने गरेको छ।
पर्यटन उडानका लागि जिल्लाको तीन स्थानबाट उडानको व्यवस्था मिलाइएको छ। सुनछहरी गाउँपालिकाको पोबाङ, सुलिचौर र लिबाङबाट जलजलाका लागि हेलिकप्टरमा हवाई यात्रा गर्न सकिने व्यवस्था मिलाइएको छ।
Facebook Comment
Comment