अल्माडाको गोलमा अर्जेन्टिनाको कोलम्बियासँग बराबरी

नेपालभ्युज

अल्माडाको गोलमा अर्जेन्टिनाको कोलम्बियासँग बराबरी

काठमाडौं । फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले कोलम्बियासँग १-१ गोलको बराबरी खेलेको छ। एक गोलले पछि परेको र १० खेलाडीमा सीमित भएको अवस्थाबाट अन्तिम समयमा गोल फर्काउँदै अर्जेन्टिनाले खेल बराबरीमा ल्याएको हो ।

कोलम्बियाले खेलको २४औं मिनेटमा डार्विन नुनेजको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा पछि परेको अर्जेन्टिनालाई दोस्रो हाफमा थप धक्का लाग्यो। खेलको ७०औं मिनेटमा एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित हुन पुग्यो।

खेलको ८१औं मिनेटमा पालसियसको उत्कृष्ट असिस्टमा थियागो अल्माडाले महत्वपूर्ण गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो।

यो बराबरीसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। अर्जेन्टिना यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ। १६ खेलबाट ३५ अंक जोड्दै अर्जेन्टिना शीर्षस्थानमा यथावत् छ। उता, कोलम्बियाको १६ खेलबाट २२ अंक पुगेको छ र छैटौं स्थानमा छ।

आजै भएका अन्य छनोट खेलहरूमा उरुग्वेले भेनेजुएलालाई २-० गोलले पराजित गर्‍यो भने बोलिभियाले चिलीलाई २-० ले हरायो। बोलिभियाको जितसँगै चिलीको विश्वकप सम्भावना समाप्त भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved