काठमाडौ। टी-ट्वान्टी विश्व कप सुरु हुन मात्र एक महिना बाँकी छ। विश्वकपको उपाधिको दाबेदारमध्ये एक भारतका कप्तान विराट कोहलीले यो विश्व कपपछि टी-ट्वान्टी टिमको कप्तानी छाड्ने घोषण गरेका छन्।
बिहीबार बेलुकी सामाजिक संजालमार्फत कोहलीको यो घोषण भाइरल भएको थियो। विशेषगरी भारतीय क्रिकेट सर्मथकहरूमा यो समाचारले तरंग मच्चाइदियो।
भारतको तीन वटै क्रिकेट फर्म्याट टेष्ट, ओडीआई र टी-ट्वान्टीका कप्तान कोहलीको कप्तानी छाड्नुका कारणबारे भनेका छन्, “गत ८-९ वर्षदेखि लगातार तीन वटै फर्म्याट खेलिरहेको छु र गत ५-६ वर्षदेखि लगातार सबै फर्म्याटमा कप्तानीका कारण ममा अत्याधिक कार्यभार भयो। त्यसैले भारतीय टेष्ट टिम र ओडीआई टिमको नेतृत्व गर्न मैले आफैंलाई केही खुला स्थान दिनैपर्छ।”
कोहलीले थप लेखेका छन्, “ मैले आफू टी-ट्वान्टी कप्तान भएको समयमा टिमका लागि गर्नुपर्ने सबै चिज गरे, अब खेलाडीको रूपमा टी-ट्वान्टी क्रिकेटमा त्यसलाई निरन्तरता दिनेछु।”
टी-ट्वान्टी क्रिकेटमा कप्तानको रूपमा कोहलीको योगदान
पूर्वकप्तान महेन्द्र सिङ धोनीले सन् २०१७ मा टी-ट्वान्टी टिमको कप्तानी छाडेपछि कोहलीले उक्त कार्यभार आफ्नो काँधमा लिएका थिए। कोहलीले टी-ट्वान्टी टिमको कप्तान बनेपछिको पहिलो खेल नै हारे। जसको कारण टी-ट्वान्टी कप्तानीको डेब्यू म्याचमा खेल हार्ने उनी भारतको पहिलो कप्तान बने।
तर इङ्ल्याण्डसँगको तीन खेलको टी-ट्वान्टी सिरिजका बाँकी २ खेल भारतले जित्यो। कप्तान भएपछिको पहिलो खेल हारे पनि पहिलो सिरिज चाहिँ कोहलीले २-१ ले जिते।
टी-ट्वान्टी टिमलाई अन्तर्राष्ट्रिय खेलमा सवार्धिक कप्तानी गर्ने कप्तानको सूचीमा कोहली आठौं नम्बरमा मात्र आउँछन्। सन् २०१७ देखि हालसम्म कोहलीको कप्तानीमा भारतले ४५ टी-ट्वान्टी म्याच खेलेको छ।
कोहलीको कप्तानीमा खेलको ४५ म्याचमा २९ खेल भारतले जित्दा १४ मा हार भोगेके थियो भने दुई वटा बिनानतिजा टुंगिएको थियो। कप्तानीको रुपमा कोहलीको जितको प्रतिशत करिब ६५ छ, जसलाई समग्रमा राम्रो मान्न सकिन्छ।
उनकै कप्तानीमा भारतले अन्य चार माहारथी राष्ट्र दक्षिण अफ्रिका, इङल्याण्ड, न्यूजिल्याण्ड र अष्ट्रेलियालाई टी-ट्वान्टी सिरिजमा उनैको घरेलु मैदानमा हराएको छ। यसलाई कोहलीको कप्तानीको अर्को उपलब्धि मान्न सकिन्छ।
भारतले दक्षिण अफ्रिका र इङल्याण्ड दुवैलाई सन् २०१८ को सिरिजमा २-१ ले नै उनीहरूकै मैदानमा हराएको थियो। सन् २०२० मा कोहलीकै कप्तानीमा भारतले न्यूजिल्याण्डविरुद्ध टी-ट्वान्टी सिरिज ५-० ले क्लिन स्विप गरेको थियो।
त्यसैगरी गत वर्ष अष्ट्रेलिया भ्रमणमा रहेको बेला भारतले ३ म्याचको सिरिज २-१ ले जितेको थियो। यो सिरिज नै कोहलीको टी-ट्वान्टी कप्तानीमा अन्तिम सिरिज पनि बन्यो।
सन् २०१० मा टी-ट्वान्टी डेब्यू गरेका कोहली अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा सवार्धिक रन प्रहार गर्ने खेलाडी हुन्। त्यसैगरी उनले हालसम्म ९० खेलमा ५२.६५ को औसतमा ३१५९ रन हानेका छन्। उनको नाउँमा २८ अर्धशतक छ। तर अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा हालसम्म कोहलीले शतक भने प्रहार गर्न सकेका छैनन्। जहाँ उनको हालसम्मको सर्वाधिक व्यक्तिगत स्कोर अविजित ९४ छ।
कोहलीको तीन वटै क्रिकेट फर्मम्याट टेष्ट, ओडीआई र टी-ट्वान्टीको सिरिजमा जितको रेकर्ड राम्रो छ। तर उनी कप्तानीमा चुकेको भनेको आईसीसीको आधिकारिक प्रतियागितामा हो। उनले सिरिज त धैरे जिते, तर बहुराष्ट्र सम्मिलित कुनै पनि प्रतियागिताको उपाधि भने उनको कप्तानीमा भारतले हालसम्म जितेको छैन।
अझ कप्तानको रुपमा आईसीसीको टी-ट्वान्टी प्रतियागितामा कोहलीको आउँदो विश्व कप नै पहिलो हो, जुन कप्तानको जिम्मेवारीको रुपमा अन्तिम पनि हुँदै छ।
Facebook Comment
Comment