काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्यदीप माध्यमिक विद्यालयमा भारतीय सहयोगमा छात्रावास बन्ने भएको छ ।
आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले छात्रावास भवन र चमेनागृहका संयुक्त रूपमा शिलान्यास गरे ।
भारत सरकारको ३.७६ करोड रुपैयाँको लागतमा सो भवन बन्ने भारतीय दूतावासले जनाएको छ । दिव्यदीप माध्यमिक विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो । यो विद्यालयमा लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बस्ने बालबालिकाहरू अध्ययन गर्छन्। भारतको सहयोगमा मुस्ताङमा १७ वटा परियोजनाहरू निर्माणाधीन छन् ।
काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले वर्षौंदेखि रहिआएको भारत–नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुसी व्यक्त गरे ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे।
Facebook Comment
Comment