ज्युँदै इँट्टा भट्टामा हालेको काण्डमा अफताव आलमका भाइले भने– सत्यको विजय

नेपालभ्युज

ज्युँदै इँट्टा भट्टामा हालेको काण्डमा अफताव आलमका भाइले भने– सत्यको विजय
इँट्टा भट्टामा जलाइएका त्रिलोकप्रताप सिंहका ८४ वर्षीय बुवा श्रीनारायण सिंह ।

रौतहट । इँट्टा भट्टामा मान्छे जलाएको अभियोगमा नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई उच्च अदालतले सफाइ दिएपछि पीडितहरू असन्तुष्ट बनेका छन् ।

इँट्टा भट्टामा जलाइएका त्रिलोकप्रताप सिंहका ८४ वर्षीय बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताए । यमुनामाई गाउँपालिका–४ सरुअठाका सिंहले न्यायका लागि आफू सास रहुन्जेल लडिरहने बताए ।

यही अभियोगमा गौर कारागारमा रहेका पूर्वसांसद आलमका भाइ मोहम्मद महताद आलमले भने सत्यको विजय भएको दावी गर्छन् । २०६४ चैत्र २८ गते भएको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँट्टा भट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले मोहम्मद अफताब आलमसहितलाई २०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि जेलमा थिए ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । ५ वर्ष ८ महिना ८ दिन कारागारमा बिताएका आलम अदालतको फैसलासँगै रिहाई भएका थिए । अहिले पूर्वसांसद आलम मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved