सिकन्दर रजा : बर्मिङ्घममा डिनर, दुबईमा ब्रेकफास्ट, अबुधाबीमा लन्च, अनि लाहोरमा च्याम्पियन

नेपालभ्युज

सिकन्दर रजा : बर्मिङ्घममा डिनर, दुबईमा ब्रेकफास्ट, अबुधाबीमा लन्च, अनि लाहोरमा च्याम्पियन

काठमाडौं । गुगल म्यापमा यूकेको नटिङ्घम र पाकिस्तानको लाहोरबीचको दूरी हेर्दा ५ हजार ३६२ माइल्स देखाउँछ । वीगोका अनुसार हवाई उडानको दूरी ६३२७ किमी रहेको छ । हवाई यात्रामा ९ देखि १२ घण्टा लाग्छ । यही दूरी केही घण्टामै तय गरेर पाकिस्तानी मुलका जिम्बाब्वेका क्रिकेटर सिकन्दर रजा पाकिस्तान सुपर लिग (पीएसएल) को फाइनल खेल्न मैदानमा उत्रिए, आफ्नो टिम लाहोर कलन्दर्सलाई च्याम्पियन बनाए ।

शनिबार बेलुकी, रजा लन्डनस्थित ट्रेंट ब्रिजमा शोएब बशीरको बलमा लडेर आउट भए । जब उनका टिमका बाँकी खेलाडीहरूले इङ्ल्यान्डसँगको एक मात्र टेस्ट खेलमा इनिङ्स हारको समीक्षा गरिरहेका थिए, रजाको यात्रा – साँच्चै भन्ने हो भने – मात्र सुरू भएको थियो ।

उनको पीएसएल फ्रेन्चाइज लाहोर कलन्दर्सले लाहोरमै फाइनल खेल्न लागेको थियो । रजाको यस वर्षको कलन्दर्सप्रति समर्पणमा कुनै शंका थिएन ।

एक हप्ताअघि मात्र उनी पाकिस्तानबाट इङ्ल्यान्डबाट उडेका थिए, टोलीलाई नकआउट चरणमा पुर्‍याउन मद्दत गरेपछि अर्को दिन फेरि आफ्नो राष्ट्रिय टिममा फर्केका थिए । झण्डै दुई दशकपछि इङ्ल्यान्डमा जिम्बाब्वेको पहिलो टेस्ट खेल्न । टेस्ट सकिएपछि, कलन्दर्सले एउटा अविश्वसनीय योजना बनाउन थाल्यो ।

रजा साथीको कारमा बर्मिङ्घमसम्म पुगे, जहाँबाट नजिकको विमानस्थल हुँदै लाहोरका लागि सबैभन्दा छिटो उडान हुने दुबई ट्रान्जिट उडान लिए ।  विजनेस क्लासको  सिट नपाउँदा पनि उनी खुसीसाथ इकोनोमीमै दुबई पुगे ।

६ घण्टाको पर्खाइ र अर्को विमानस्थल परिवर्तनपछि उनी अबुधाबीबाट लाहोरतर्फको उडानमा चढे । जब शाहीन अफ्रीदीले टसमा घोषणा गरे कि रजा प्लेइङ ११ मा छन्, उनी अझै विमानस्थलबाट आउँदै थिए ।

‘म यहाँ आफ्नो काम गर्न आएको हुँ, र भगवान नहोस्, खेल हारे पनि कम्तीमा मेरो मनले भनिरहेको थियो कि म आफ्ना दाजुभाइहरूसँग छु,’ रजाले खेलपछि भने । उनले तनावपूर्ण अन्त्यमा जित दिलाएका थि ए। ‘मलाई थाहा छ टोलीले मलाई यहाँ चाहन्थ्यो, किनकि मलाई ल्याउन पछिल्ला २४–३६ घण्टामा मालिक र कप्तानहरूले जुन प्रयास गरे, त्यो अविश्वसनीय छ ।’

‘टेस्ट खेलमा अघिल्लो दिन २५ ओभर बलिङ गरेँ, हिजो २० ओभर ब्याटिङ गरेँ । बर्मिङ्घममा डिनर, दुबईमा ब्रेकफास्ट, अबुधाबीमा लन्च, अनि पाकिस्तानमा डिनर । यो नै प्रोफेसनल क्रिकेटरको जीवन रहेछ । म साँच्चै धन्य र कृतज्ञ छु, ’ रजाले भने ।

क्वेटा ग्लाडिएटर्सविरुद्धको फाइनल खेलको दोस्रो ओभरमै रजाले रिली रोसोउलाई आउट गरे । तर, कलन्दर्सले उनलाई किन टिममा ल्याउन सबै कुरा गर्‍यो भन्ने तीन घण्टापछि मा स्पष्ट भयो । रजा ब्याटिङ गर्न आउँदा कलन्दर्स पूरै दबाबमा थियो । २०२ रनको लक्ष्य,  चार विकेट गइसकेको थियो र अझै २० बलमा ५७ रन आवश्यक । उनी मैदानमा आए पहिलो बलमा चाैका र दाेस्राे बलमा छक्का प्रहार मात्र गरेनन्, टिमलाई जिताउन सकिन्छ भन्ने आत्मविश्वास पनि देखाए । मोहम्मद आमिरले डेथ ओभर बलिङ गर्दै थिए,  बाँकी दुई बलमा रजाले बल सीमारेखा कटाएका थिए ।

‘मैले भावना निकाल्ने प्रयास गरेँ’,रजाले भने, ‘यो लामो यात्रा र टेस्ट खेलले पनि सहयोग गर्‍यो । म खाली थिएँ, केही सोचिरहेको थिइनँ । बल जहाँ आउँछ, त्यहाँको सबैभन्दा राम्रो प्रहार गर्ने भनेर मात्रै सोचेँ ।’

अर्को  ओभर उनी स्ट्राइकमा आएनन्, तर कुशल परेरा अर्को छेउमा राम्रो खेल्दै थिए । अन्तिम ओभरमा खेल ग्लाडिएटर्सतर्फ झुकेको थियो, र रजाको सामना गर्नुपर्ने भयो । तीन बल बाँकी, आठ रन चाहिएको थियो ।

फहीम अशरफले चौडाइमा योर्कर हान्ने प्रयास गरे, थोरै मात्र चुक्यो । तर त्यो दिन रजा जसरी पनि काम सम्पन्न गर्न चाहन्थे । उनले बलमुनि गएर जबरजस्त पावर हिट गरे, बल कभर प्वाइन्टमाथिबाट छक्का गयो । अर्को बलमा फहीम योर्करमा फेरि चुके, र रजाले मिडविकेटतिर हिर्काए । आतिशबाजीको धुँवा गद्दाफी स्टेडियममा छायो र कलन्दर्सको टोली आएर उनलाई काँधमा उठायो ।

‘यही नै हो असली क्रिकेट,’ रजाले भने, ‘हामीले तीन नकआउट खेलेका छौँ । हामीभन्दा बढी तयार टिम को हुन्छ ? दुई वर्षअघि पनि अन्तिम बलमा जितेका थियौँ । तर, यो फाइनल फरक छ – यहाँ आइपुग्नुको कथा नै अनौठो छ । यति नाटकीय खेल र यति अविश्वसनीय जित – वर्णन गर्न शब्द छैन, ’ उनले भने । शब्द कम परे पनि रजाको कामले नै उसको लागि सबै बोलिदिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved