काठमाडौं । नेपालमा सौर्य ऊर्जाको प्रयोग सन् १९८० को दशकदेखि भएको पाइन्छ । त्यतिबेला फ्रान्सको सहयोगमा नेपालका ताप्लीवासी, कोदारी, सिमिकोट र गमगढीमा सौर्य विद्युत् उत्पादन गरिएको थियो । यसको क्षमता १३० किलोवाट थियो ।
अहिले सोलार प्यानलको प्रयोग दुर्गम स्थानहरूमा विद्युत् सेवा उपलब्ध गराउनका लागि गरिएको छ र केही स्थानमा पूर्णतः व्यावसायिक भइसकेको छ ।
काठमाडौं उपत्यका खोपालीमा लिमिटेडले ललितपुरको थीबीनाथमा निर्माण गरेको ६० किलोवाटको सौर्य विद्युत् पहिलो पटक विद्युत् खरिद सम्झौता (पीपीए) गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।
ऊर्जा प्रविधिको विकास तथा विस्तार गर्न नेपाल सरकारको अगुवाइमा २०५३ साल कात्तिक १८ गते विकास समिति ऐन, २०१३ अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन विकास समितिअन्तर्गत रहने गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थापना भएको थियो ।
जसबाट नवीकरणीय ऊर्जाको उत्पादन गर्दै ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउने, वातावरण संरक्षण गर्ने, रोजगारीका अवसरमा वृद्धि गर्ने र नवीकरणीय ऊर्जा प्रविधिलाई व्यवसायीकरण गरी यससम्बन्धी उद्योग धन्दाको विकास गर्ने कार्यहरू हुँदै आएका छन् ।
केन्द्रबाट लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, जैविक ऊर्जा (बायो ग्यास, सुधारिएको चुलो, बायोमेट्रिक, ग्यास फायर आदि), वायु ऊर्जा, सुधारिएको पानी घट्ट, भूतापीय ऊर्जा इत्यादि कार्यक्रम सञ्चालनमा रहेका छन् ।
सौर्य ऊर्जाको प्रयोगले विद्युत् खपतमा टेवा पुर्याउन सकिने विज्ञहरू बारम्बार बताउँदै आइरहेका छन् । सौर्य ऊर्जा सूर्यको किरणबाट प्राप्त हुने भएकाले यो असीमित र वातावरणमैत्री हुने गर्दछ । यसले कार्बनडाइअक्साइडजस्ता हरित गृह ग्यासहरूको उत्सर्जन नगरी ऊर्जा उत्पादन गर्छ ।
हाल नेपालमा सौर्य ऊर्जा उत्पादन गर्ने धेरै कम्पनीहरू उदाइसकेका छन् । जसमा पियोर इनर्जी, वेस्ट इनर्जी, दीप ज्योति सौर्य ऊर्जा, दीप लाइट इनर्जी, जेबि इन्टरप्राइजेज, काठमाडौं पावर लगायतका धेरै सौर्य ऊर्जा उत्पादक कम्पनी रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म करिब १०७ मेगावाट बराबरका सौर्य ऊर्जा उत्पादक आयोजनाहरू सञ्चालनमा रहेका छन् ।
जसमध्ये निजी क्षेत्रले निर्माण गरेका ८२ मेगावाटका १६ आयोजना सञ्चालनमा रहेका छन् भने प्राधिकरणले नुवाकोटको त्रिशूलीमा २५ मेगावाटको आयोजना बनाएको छ । जसबाट १० लाख ७ हजार घरधुरी लाभान्वित भएको जनाइएको छ ।
आईपीओ जारी गर्ने पहिलो सौर्य ऊर्जा कम्पनी
गत फागुन २ गते धितोपत्र बोर्डले सौर्य ऊर्जा उत्पादक कम्पनी पियोर इनर्जीलाई आईपीओ निष्कासनको अनुमति दियो । योसँगै आईपीओ निष्कासनको अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी बनेको छ, पियोर इनर्जी ।
पियोर इनर्जी गोल्यान ग्रुपअन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ ।
दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ बिगाहा क्षेत्रमा फैलिएको छ ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले यही चैत्र २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । आईपीओमा कुल १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो ।
कुल स्वीकृत आवेदनमध्ये ६ दशमलव ४ प्रतिशतले मात्र सेयर पाएका थिए भने १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको थियो ।
कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका आवेदन खोलेको थियो । कम्पनीले नेपालमा सौर्य ऊर्जाको माग र आवश्यकता परिपूर्ति गर्नका लागि भारतीय सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनीसँग सहकार्य गर्न सम्झौता गरेको छ ।
काठमाडौंमा सम्पन्न भएको प्रोजल ग्रीन इनर्जी शिखर सम्मेलनमा दुई वर्षमा पाँच सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादक परियोजनाहरू बनाइने गरी सम्झौता भएको बताइएको छ ।
जसमा नेपालको पियोर इनर्जी र भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रीन इनर्जीले संयुक्त काम गर्नेछन् ।
Facebook Comment
Comment