हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको छ। मकवानपुरसहित १६ वटा जिल्लामा बाँकी रहेको जिल्ला अधिवेशन फागुन १३ गते सम्पन्न गर्ने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्णय गरेको हो।
पटक पटक मिति तोकेर १६ वटा जिल्लाको जिल्ला अधिवेशन स्थगीत भएको थियो। पुसा २७ गतेका लागि तोकिएको अधिवेशन माघ १२ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनको तयारी भन्दै सारिएको थियो। त्यसैगरी माघ १५ गतेका लागि तोकिएको अधिवेशन कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरेको थियो।
सभापतिमा ३ जनाको दाबी
नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापतिका लागि ३ जना आकांक्षी रहेका छन्। कांग्रेस मकवानपुरका पूर्व जिल्ला सचिव एवम् निवर्तमान नगर सभापति आनन्दराम पराजुली, पार्टीको जिल्ला सचिव बुद्ध लामा र महाधिवेशन प्रतिनिधि जयराम लामिछानेले सभापति पदको लागि आफ्नो आफ्नो तयारी शुरू गरेका छन्।
निर्वाचनको तयारीमा जुटेका तीनैजनाले सम्पर्क कार्यालय स्थापना गरी प्रतिनिधि भेटघाटको कार्यक्रमलाई तीव्र पारेका छन्। उनीहरुले मतदातासँगको भेटघाटलाई पनि निरन्तरता दिँदै आएका छन्। पराजुली र लामा दुवै शेरबहादुर देउवा पक्षधर भने लामिछाने देउवा इतर समूहका हुन्।
Facebook Comment
Comment