काठमाडौं । पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो हाल ४० वर्षका भए पनि उनको वास्तविक जैविक उमेर (बायोलोजिक एज) भने झण्डै १२ वर्ष कम भएको खुलासा भएको छ । उनको जैविक उमेर २८.९ वर्ष भएको खुलासा भएको हो ।
साउदी अरेबियाको क्लब अल–नासर एफसीमा खेलिरहेका रोनाल्डोले ’हुप’ नामक पोडकास्टमा आफ्नो स्वास्थ्यसम्बन्धी डाटा सार्वजनिक गरेका छन् । ‘हुप’ एक अग्रणी प्रविधि कम्पनी हो, जसले फिटनेस ट्र्याकर र स्वास्थ्य निगरानी उपकरण निर्माण गर्छ । रोनाल्डो यस कम्पनीका ब्रान्ड एम्बासडरसमेत हुन् ।
कम्पनीले रोनाल्डोको हृदयगति, हृदयगतिको विविधता, निद्रा र पुनःउत्पादन शक्ति लगायतका शारीरिक डाटाको मापन गरेर उनको जैविक उमेर २८.९ वर्ष रहेको निष्कर्ष निकालेको स्पेनिस पत्रिका मार्काको समाचारमा उल्लेख छ ।
आफ्नो जैविक उमेर कम भएको रिपोर्ट पाएपछि रोनाल्डोले आफूलाई अचम्म लागेको प्रतिक्रिया दिएका छन् । ‘मेरो जैविक उमेर २८.९ वर्ष मात्रै यति राम्रो अवस्थामा छु भनेर म आफैँ विश्वास गर्न सक्दिनँ,’ उनले ’हुप’का संस्थापक विल अहमेडसँगको कुराकानीमा भने ।
यस अनपेक्षित नतिजापछि रोनाल्डोले भविष्यमा अझै १० वर्षसम्म व्यावसायिक फुटबल खेल्ने योजना बनाएको बताए । ‘खेलमा उत्कृष्ट प्रदर्शन दिनु मेरा लागि सधैँ पहिलो प्राथमिकता हो,’ उनले थपे । हुपको सहायताले रोनाल्डोले आफ्नो शरीरलाई अझ राम्ररी बुझेर दीर्घकालीन प्रदर्शन गर्न सक्ने जानकारहरू बताउँछन् ।
‘हुप’ प्रविधि विश्वका उत्कृष्ट खेलाडीहरूले प्रयोग गर्ने स्वास्थ्य उपकरण हो । जो दैनिक जीवनमा पनि उपयोग गर्न सकिने गरी विकास गरिएको छ । यस उपकरणले निद्रा, तनाव, पुनःउत्थान, प्रयास र १४० भन्दा बढी व्यवहारलाई ट्र्याक गरेर प्रदर्शनमा के असर गर्छ भनेर जानकारी दिन्छ ।
Facebook Comment
Comment