काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार सो आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
१७ वैशाखमा विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न पत्र काटेका थिए । लगत्तै चौधरी पक्राउ परेर सोही दिन छुटेका थिए ।
विष्टलाई पनि सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीमाथि प्रहरीले किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।
Facebook Comment
Comment