आरोहणबारे विश्वप्रकाशको स्पष्टीकरण- बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न

नेपालभ्युज

आरोहणबारे विश्वप्रकाशको स्पष्टीकरण- बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले सगरमाथा आरोहणबारे आएका समाचारहरुलाई लिएर स्पष्टीकरण दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत शर्माले आफू सगरमाथाको आधार शिविर (बेसक्याम्प) सम्म मात्र पुगेको र अहिले आरोहणको लागि प्रशिक्षण लिइरहेको जानकारी दिएका हुन् ।

शर्माले लेखेका छन्, ‘यसपालि सेमिफाइनलसम्म, अर्थात् सगरमाथा बेसक्याम्पसम्म भनेरै हिँडेको थिएँ काठमाडौंबाट। त्यो म पुगिसकें, सेमिफाइनल पूरा भएको छ।’

शर्माले आफूले ६ हजार १ सय ४५ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरिसकेको र सगरमाथा चढ्न पाउने मापदण्ड अनुसारको अनुमति पत्र पनि लिएको बताएका छन्। सोही कारणले गर्दा कतिपयले उनलाई तत्कालै सगरमाथा चढ्न लागेको अनुमान गरेको हुनसक्ने उनको भनाइ छ।

तर सगरमाथा आरोहणका लागि पर्याप्त प्रशिक्षण र समय आवश्यक पर्ने उनको भनाइ छ। सामान्यतया आरोहीहरु ४२ दिनको प्याकेजमा प्रशिक्षण लिने र मे महिनाको २९ तारिख (जेठ १५/१६ तिर) सगरमाथा दिवसको आसपासमा आरोहण बन्द हुने गरेको उनले जानकारी दिए।

भर्खरै मात्र बेसक्याम्प पुगेको हुनाले आरोहणका लागि समय र आवश्यक प्रशिक्षण दुवै नपुगेको उनले स्पष्ट पारेका छन्।

यद्यपि, उनले बेसक्याम्पमा प्रशिक्षण लिइरहेको र यो प्रशिक्षण भविष्यमा सगरमाथाको फाइनलमा प्रतिस्पर्धा गर्न वा लोबुचे हिमालभन्दा केही माथि पुग्न पनि सहयोगी हुनसक्ने बताएका छन्।

उनले लेखेका छन्, ‘सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न। इच्छाएका कुरा हासिल गर्न सो बमोजिमको योग्यता पनि हुनुपर्छ, अहिले नै मसँग त्यसका लागि पर्याप्त योग्यता छैन। आभारी हुनेछु यतिबेला तपाईंको केवल शुभकामना प्रती!’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved