काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतङ्ककारी अड्डाको आक्रमण रोकिए पनि पूर्ण रूपमा अन्त्य नभएको दाबी गरेका छन्।
सोमबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अब पाकिस्तानले चाल्ने कदमलाई हेरेर आगामी कार्यक्रम तय गरिने जानकारी दिए । शनिबार दुई देशबीच युद्धविराम भएपछि मोदीको यो पहिलो सम्बोधन हो।
प्रधानमन्त्री मोदीले अप्रिल २२ मा पहलगाम आक्रमणपछि सम्पूर्ण देश, हरेक राजनीतिक दल, आतङ्कवादविरुद्ध एक स्वरमा उभिएको बताए ।
मोदीले मारिएका आतङ्ककारीहरुको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारीहरू सहभागी भएको आरोप लगाउँदै त्यसलाई राज्य प्रायोजित आतङ्कवादको नमुना भएको दाबी गरे। उनले भने, ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ ।’
प्रधानमन्त्री मोदीले भने, ‘भारतको विचार एकदमै स्पष्ट छ, आतङ्क र वार्ता एकसाथ हुन सक्दैन । पानी र रगत एकसाथ बग्न सक्दैन ।’
पाकिस्तानसँगको वार्तामा पाकिस्तानको कब्जामा रहेको कश्मीर र आतङ्कवादबाहेक अन्य विषयमा छलफल नहुने स्पष्ट पार्दै मोदीले बुद्ध पूर्णिमाको सन्दर्भ जोडे। उनले भने, ‘शान्तिको बाटो पनि शक्तिले तय गर्छ।’
Facebook Comment
Comment