काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–२ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायका लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलेमतोमा थप पीडा दिएको गुनासो गरेकी छिन् ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसीले आफू एकल भएकाले स्थानीय सरकारदेखि अदालतका कर्मचारीसम्मले सहानुभूतिको सट्टा अन्याय गरेको आरोप लगाइन् । आफ्नो नाममा आइसकेका जमिनहरू पनि अध्यक्षहरूको योजनामा आफूलाई भोगचलन गर्न नदिएको उनको गुनासो छ ।
उनले भनिन्, ‘मैले सम्मानित रौतहट जिल्ला अदालतबाट न्याय पाउँदा पनि दुई र चार वडाका अध्यक्षहरू र अदालत कर्मचारीहरूको मिलेमतोमा फैसला कार्यान्वयन नगरी घुस मागिरहेका छन् ।’
आफ्नो करोडौंको जग्गा जमिन हडप्न सबै एकजुट भएपछि आफू न्यायका लागि काठमाडौं नै आउनु बाध्य भएको बताउँदै केसीले भनिन्, ‘विवाह गरेको १३ वर्षमै श्रीमान् गुमाएँ, १८ वर्षको जेठो छोरो गुमाए अहिले मेरो जीवन दाउमा छ । कान्छो छोरा जोगाउन गाह्रो परेको छ, मेरो अगाडि पछाडि कोही छैन, अब न्याय कसरी पाउने ?’
‘कहाँ जान्छ, के गर्छ भनेर चिओचर्चा गर्नेहरू हात धोएर लागेका छन्, मेरो अकालमा हत्या भयो भने यिनै सम्बन्धित व्यक्तिहरू जिम्मेवार हुनेछन्’,उनले थपिन् ।
कतै उपाय नलागेपछि मिडियामार्फत आफ्नो जीवन रक्षा र अदालतबाट फैसला भइसकेको आदेश कार्यान्वयनको लागि आमरुपमा गुहार माग्नु परेको केसीले बताइन् ।
पत्रकार सम्मेलनमा माओवादी युवा नेता सोनाम घिसिङले आफू सम्बन्धित स्थानमा गएर सो विषयमा बुझ्दा स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको मिलेमतोमा पीडितको सम्पत्ति हडप्ने प्रपञ्च रचेको स्पष्ट देखेको बताए ।
Facebook Comment
Comment