काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरेक वर्ष आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड यो पटक फागुन १७ गते आयोजना हुने भएको छ।
यसपटकको १६ औं संस्करणको अवार्ड ललितपुरस्थित बज्रबाराही मन्दिरमा आयोजना हुने बिहीबार एक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यो अवार्डमा गोदावरी नगरपालिकाको मुख्य प्रायोजना रहनेछ। कोभिडका कारण यो वर्ष धेरै प्रतियोगिताहरू नभइरहेको अवस्था छ।
जसकारण यस पटक ओलम्पिक कमिटीबाट आधिकारिकताप्राप्त २७ ओटा खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ।
अवार्डमा २७ खेलका हरेक उत्कृष्ट खेलाडीहरूले अवार्ड प्राप्त गर्नेछन्। यस्तै यी उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ। जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन्। एक पुरुष र एक महिला उदीयमान खेलाडी चयन गरि ५० हजार नगदले सम्मान गरिने छ।
एक पाका खेलाडी जसले खेलकुदमा जीवन व्यतीत गर्नुका साथै खेलकुदको विकासमा योगदान पुर्याएका छन् उनलाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कारबाट सम्मान गरिने छ।
यो पुरस्कार नेपालका पहिलो धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी ट्रष्टले प्रदान गरेकोे छ। एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ। यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान गरिने आयोजकले जनाएका छन्।
संघले सिफारिस गरिएका उत्कृष्ट खेलाडी बाहेक अन्य खेलाडीहरूको चयनका लागि संघका पूर्व अध्यक्ष एवं ओलम्पियन दीपक बिष्टको संयोजकत्वमा एक छनोट कमिटि गठन गरिएको छ।
Facebook Comment
Comment