काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार भएको बताएकी छन् ।
नेपाल प्रेस युनियनद्वारा ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै उनले भनिन्, “स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ । त्यसैले प्रेस स्वतन्त्रता विनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।”
मन्त्री राणाले नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरिन् ।
त्यसैले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको उनको भनाई थियो । उनले भनिन्, “सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हक अन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ ।”
मन्त्री राणाले लोकतन्त्रले अहिले विविध खाले चुनौतीहरूको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताउँदै यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
Facebook Comment
Comment