काठमाडौं । काठमाडौंस्थित चिनियाँ राजदूतावासले आफ्ना नागरिकहरूलाई नेपाल-भारत सीमा क्षेत्रबाट टाढा रहन सुचित गरेको छ ।
भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थालाई उद्धृत गर्दै वीच्याटमार्फत नेपालस्थित चिनियाँ दूतावासले ट्राभल एडभाइजरी जारी गरेको हो ।
दूतावासद्वारा जारी सूचनामा भनिएको छ- ‘हालैका दिनहरुमा, नेपाली सशस्त्र प्रहरी बलले सीमा गस्तीमा उल्लेखनीय वृद्धि गरेको छ भने चेकप्वाइन्ट थपेको छ । साथै, भारतीय सीमा सुरक्षा बलसँग संयुक्त गस्ती गरिरहेको छ । भारतीय पक्षले संवेदनशील सीमा क्षेत्रहरूमा नियन्त्रण र निरीक्षणमार्फत सतर्कता बढाएको छ । यस पृष्ठभूमिमा, चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरुलाई निकट भविष्यमा नेपाल-भारत सीमा क्षेत्रमा नजान र भारतीय सीमामा गलत प्रवेशलाई कडाइका साथ रोक्न यो निर्देशन जारी गरेको छ ।’
नेपाल र भारतबीच खुला सीमाना भएकाले दुई देशका नागरिक भिसा नभए पनि स्वतन्त्र रूपमा वारपार यात्रा गर्न सक्ने, तर चीन जस्ता तेस्रो देशका नागरिकहरूले भिसा बिना नेपाल हुँदै भारत यात्रा गर्न नसक्नेबारे दूतावासले सचेत गराएको छ । “नेपालमा रहेका चिनियाँ नागरिकहरूले यसलाई धेरै महत्त्व दिनुपर्छ । स्थानीय गाइडहरूको निर्देशनलाई अन्धाधुन्ध पालना गर्नु हुँदैन र लापरवाहीपूर्वक भिसा बिना भारतीय सीमामा प्रवेश गर्नु हुँदैन । अवैध प्रवेशको लागि भारतमा कडा सजायको व्यवस्था छ,’ सूचनामा भनिएको छ ।
गलत तवरले भारतमा प्रवेश गरेको खण्डमा २ देखि ८ वर्षको जेल सजाय र जरिवाना हुन सक्ने र जमानत कठिन हुनेबारे सचेत रहन चीनले आफ्ना नागरिकलाई सजग गराएको हो ।
चिनियाँ नागरिकलाई आपतकालीन हिसाबले नेपालबाट भारत जानु पर्ने अवस्था भए पहिले नै भिसाको लागि आवेदन दिन भनिएको छ । अध्यागमनमा राहदानी र भिसा जाँच गराएर मात्रै भारत प्रवेश गर्न दूतावासको निर्देशन छ । साथै, भारत प्रवेशपछि त्यहाँको सरकारी निकायले जारी गरेका नियमहरूलाई कडाईका साथ पालना गर्न भनिएको छ ।
सीमा क्षेत्रमा अनावश्यक तस्वीरहरू नखिच्न र विदेशीहरू लागि प्रतिबन्धित क्षेत्रहरूमा नजानसमेत दूतावासले आफ्ना नागरिकलाई सजक गराएको छ ।
Facebook Comment
Comment