पाकिस्तानले आफ्नो सैन्य अखडामा आक्रमण प्रयास गरेको भारतको दाबी

पाकिस्तानले भन्यो - २५ वटा भारतीय ड्रोन खसालियो

नेपालभ्युज

पाकिस्तानले आफ्नो सैन्य अखडामा आक्रमण प्रयास गरेको भारतको दाबी
तस्वीर - एएफपी

काठमाडौं । भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर धेरै भारतीय सैन्य अड्डाहरूलाई निशाना बनाउने प्रयास गरेको दाबी गरेको छ ।

अर्कोतर्फ, पाकिस्तानले पनि भारतमाथि यस्तै आरोप लगाएको छ र २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “पाकिस्तानले ड्रोन प्रयोग गरेर अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्ने प्रयास गरेको छ ।”

भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ ।

भारतको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानी ड्रोनका भग्नावशेषहरू अब धेरै स्थानहरूबाट बरामद भइरहेका छन्, जसले आक्रमण पाकिस्तानले गरेको प्रमाणित गर्दछ ।” साथै, रक्षा मन्त्रालयले भारतले पनि पाकिस्तानलाई उस्तै तीव्रताका साथ जवाफ दिएको दाबी गरेको छ ।

भारतको सशस्त्र सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणालीहरूलाई निशाना बनाएको छ । मन्त्रालयले दाबी गरेको छ, “विश्वसनीय जानकारीअनुसार लाहोरमा एक वायु रक्षा प्रणाली नष्ट गरिएको छ ।”

अर्कोतर्फ, पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । यी ड्रोनहरू पाकिस्तानका विभिन्न शहरहरूमा खसालिएको बताइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार एक पत्रकार सम्मेलनमा भने, “भारतले मे ७ को रातदेखि “ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयास” गरिरहेको छ ।”

उनले लाहोर, गुजरनवाला, चकवाल, अटक, रावलपिंडी, मियाँवाली र कराँचीमा ड्रोन ध्वस्त पारिएको बताए । पाकिस्तानी प्रवक्ताको भनाइमा भारतले कुनै टिप्पणी गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved