काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना भएको छ ।
स्थानीय समयअनुसार बिहीबार बिहान ८:४५ बजेतिर उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गङ्गानानीमा पाइलटसहित सात जना सवार हेलिकोप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीटीआईले जनाएको छ ।
राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)बाट प्राप्त जानकारीअनुसार एरोट्रान्स सर्भिसेज प्राइभेट लिमिटेडको हेलिकोप्टर दुर्घटनाग्रस्त भएर लगभग २००-२५० मिटर गहिरो खोंचमा खसेको थियो ।
एसडीआरएफले हेलिकोप्टर देहरादुनको सहस्त्रधारा हेलिप्याडबाट यमुनोत्रीको खरसाली हेलिप्याडका लागि उडेको बताएको छ ।
क्याप्टेन रोबिन सिंहले हेलिकोप्टर उडाइरहेका थिए । हेलिकोप्टरमा चार जना मुम्बईका थिए भने अन्य दुई जना आन्ध्र प्रदेश राज्यका थिए ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् ।
घाइतेहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउन र दुर्घटनाको अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिइएको उनले बताए ।
Facebook Comment
Comment