काठमाडौं । धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि जलविद्युत् आयोजनासँग कमिसन माग गरेको विषयको भरपर्दो संयन्त्रबाट छानबिन गराउन प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले माग गरेको छ ।
बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने खबर बाहिर आउनु खेदजनक भएको माओवादी सांसद माधव सापकोटाले बताए ।
बुधबारको प्रतिनिधि सभामा उनले भने, “धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ । म पार्टीको तर्फबाट ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु ।”
“इप्पानका अध्यक्ष र सदस्यले नै खुला गर्नुभएको छ कि धितोपत्र बोर्डले ठूला आयोजनाबाट ५ प्रतिशत र साना आयोजनाबाट ७ प्रतिशत माग्दै बार्गेनिङ भयो । यो समाचारप्रति प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको छ,” उनले थपे । यो विषयमा छानबिन हुनुपर्ने सापकोटाको माग छ ।
उक्त विषयमा सभामुखले सरकारलाई रुलिङ गर्न पनि उनले माग गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डले नै कमिसन मागेको जस्तो आरोप लागेपछि सरकारले ख्याल गर्नुपर्ने बताइन् ।
Facebook Comment
Comment